नेपालगन्ज । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको फागुनसम्म लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन ।
यो अवधिमा नेपालगन्ज भन्सारले १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ । फागुनमा दुई अर्ब ३१ करोड ४८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य पाएकोमा एक अर्ब ७० करोड ५४ लाख सङ्कलन भएको छ ।
गत आर्थिक वर्षमा विभागले २८ अर्ब ६६ करोड लक्ष्य दिएकोमा नेपालगञ्ज भन्सार कार्यालयले १८ अर्ब १५ करोड राजस्व असुली गरेको थियो ।
Advertisement
नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात हुँदा जडीबुटीलगायत वस्तु निर्यात हुने गरेका छन् । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले बजारको शिथिलताको असर परेको बताए ।
भारतबाट दैनिक उपभोग्य वस्तुहरू आएका तर ठुला उपकरण तथा पेट्रोलियम पदार्थजस्ता राजस्व धेरै आउने वस्तुहरू कम आएका उनले बताए । उनले पनि राजस्वको लक्ष्य भेट्टाउन कठिन हुने बताए ।
पछिल्लो समय ठुला विकास निर्माणका कामले पनि भुक्तानी नपाउँदा नयाँ उपकरण तथा अन्य सामान ल्याउन अप्ठारो देखिएको भन्सार अधिकारी बताउँछन्।









