बीबीसी । प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परेर इजरेलमा निधन भएका १० नेपालीको शव नेपाल ल्याउन तथा त्यहाँ अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि “सकभर आजै नेपालबाट विमान पठाइने” परराष्ट्रमन्त्रीले बताएका छन्।
बुधवार बिहान बीबीसी न्यूज नेपालीसँग सङ्क्षिप्त कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले उक्त जानकारी दिएका हुन्।
Advertisement
“नेपाल वायु सेवा निगमले हवाई उडान अनुमतिका लागि पहल गरिरहेको छ। उडान अनुमति पाउनेबित्तिकै हामी सकभर आजै विमान त्यसतर्फ पठाउँछौँ,” उनले भने।
हमास र इजरेलबीच लडाइँ भइरहेको क्षेत्रबाट सुरक्षित स्थानमा लगिएका नेपालीहरूले भने उद्धार कहिले हुन्छ भन्ने निश्चित नहुँदा आफूहरू “थप अन्योलमा परेको” बताएका छन्।
शनिवार हमासले गरेको आक्रमणमा गाजानजिकै १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।
हराइरहेका भनिएका विद्यार्थी विपीन जोशीको खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।

परराष्ट्र मन्त्रालयले मङ्गलवार साँझ एउटा वक्तव्य जारी गर्दै नेपाली नागरिकको शव चाँडै स्वदेश ल्याउन लागिएको जनाएको छ।
“इजरेलमा निधन भएका १० जना नेपालीको शव नेपाल ल्याउनका लागि इजरेल सरकारका विधिविज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउनेगरी कार्यप्रक्रिया सुरु भइसकेको छ,” वक्तव्यमा भनिएको छ।
त्यसबारे मङ्गलवार अपराह्ण परराष्ट्रमन्त्री साउदले इजरेली समकक्षीसँग टेलिफोन कुराकानीसमेत गरेको वक्तव्यमा उल्लेख छ।
इजरेली परराष्ट्रमन्त्री एली कोहेनले नेपालीहरूको शव फर्काउन र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसमा भनिएको छ, “…माननीय परराष्ट्रमन्त्रीज्यूले आफ्ना इजरेलका समकक्षीसँग टेलिफोन संवाद गरी हालको कठिन समयमा नेपाल इजरेलको साथमा रहेको जनाउँदै निधन भएका नेपालीहरूको शव स्वदेश ल्याउन, नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरूलाई सहजीकरण गर्ने विषयमा कुराकानी गर्नुभयो।”
“इजरेली सरकारका परराष्ट्रमन्त्रीले पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।”
बुधवार बिहान बीबीसीसँगको कुराकानीमा इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले पनि “इजरेली अधिकारी र निकायहरूको समन्वयमा नेपालीको शव यथाशीघ्र नेपाल पठाउने पहल भइरहेको” बताएकी छन्।
उनका अनुसार इजरेली निकायले नेपालीको शव हस्तान्तरण गर्नेबित्तिकै स्वदेश फर्काउने गरी काम गरिरहेको बताइन्।
त्यस्तै उद्धारको पर्खाइमा रहेकाहरूलाई पनि स्वदेश फर्काउने अन्तिम तयारी भइरहेको उनको भनाइ छ।
कति छन् उद्धारको पर्खाइमा?
इजरेलमा रहेका र स्वदेश फर्कन चाहनेका लागि तेल अभिभस्थित नेपाली राजदूतावासले अनलाइनमार्फत् विवरण सङ्कलन गरिरहेको छ।
त्यस क्रममा मङ्गलवार बेलुकासम्म ३५० जना नेपालीहरूले स्वदेश फर्कन अनलाइन आवेदन दिएको दूतावासले जनाएको छ।
दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “इजरेल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरूलाई इजरेली सुरक्षा संयन्त्रसमेतको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।“
“यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहनुभएका ७२ जना नेपाली विद्यार्थीहरूलाई अझ सुरक्षित ठाउँमा सारिएको छ।”
दूतावासले बेपत्ता भएका एकजना नेपालीको खोजी कार्य पनि जारी रहेको वक्तव्यमा उल्लेख गरेको छ।
त्यसमा भनिएको छ, “हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका चार जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै छ भने हराइरहेको एक जना नेपाली विद्यार्थीको खोजी कार्य प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको छ।”
इजरेलमा रहेका नेपाली के भन्छन्?
गाजा क्षेत्रबाट उद्धार गरेर रामात नेगेभ क्षेत्रमा पुर्याइएका कतिपय नेपाली विद्यार्थीले अरू देशले आफ्ना नागरिकको उद्धार गर्दा पनि नेपाल सरकारले ढिलो गरेको गुनासो गरेका छन्।
त्यस्तै मध्येका एक बर्दियाका लुइस रिजालले बीबीसीसँगको सम्पर्कमा भने, “उद्धार कहिले हुन्छ भन्ने कुराले हामीलाई अझ अन्योल थपेको छ। हामी थप चिन्तामा परेका छौँ।”
उनले भने, “हामीलाई अहिले एउटा कृषि फर्ममा राखिएको छ। नजिकै एउटा रकेट खसेको भन्ने सुनिएको थियो। हामीलाई त्यसैले यहाँ पनि सुरक्षित छैनौँ कि भन्ने डर लागेको छ। खानेकुरा किन्ने पैसा पनि सकियो। सरकारले तत्काल उद्धार गरोस् भन्ने हाम्रो भनाइ छ।”
मङ्गलवार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरेलमा निधन भएका नेपालीको शव ल्याउने र स्वदेश आउन चाहनेहरूलाई तत्काल उद्धार गर्न निर्देशन दिएको थियो।
उक्त समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेको उपचार गर्न, सम्पर्कविहीन भएकाको तत्काल खोजी गर्न, असहज परिस्थितिमा परेका नेपालीको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा स्वदेश फर्काउनका लागि इजरेल सरकारसँग समन्वय गरी काम गरिरहेको बताएका थिए।
समितिले नेपालीको उद्धारलाई प्राथमिकतामा राखेर काम गर्न पनि निर्देशन दिएको थियो।
इजरेलमा नेपालीको सङ्ख्या
नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।
त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएको सरकारी तथ्याङ्क छ।
यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।









