गुलरिया । बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु र नगर उप प्रमुख रत्नकुमारी पाण्डेलाई मदिरा सेवन गरेर मङ्गलवार कार्यालय समयमाअभद्र व्यवहार गरेको भन्दै उजुरी परेपछि प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् । उनलाई बारबर्दिया नगरपालिकाबाट बुधवार बेलुका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।
Advertisement
नगरप्रमुख थारुसहितको टोलीले जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिएपछि प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत आचार्यले नगरपालिकाको कार्यालय पुगी उप प्रमुख रत्न कुमारी पाण्डेलाई उप प्रमुखकै कार्य कक्षमा तथानाम गाली गर्दे हातपात गर्ने प्रयास गरे पछि इलाका प्रहरी कार्यालयले मंगलबारनै पक्राउ गरेर साँझ जिम्मा जमानतमा छाडेको थियो । उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन माग गर्दे मुद्दा दायर गरिएको बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारुले बताए ।
प्रहरीले भने बुधवार कार्यालय समय नभएका कारण मुद्दा दर्ता नगरिएको र प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई पक्राउ गरिएको जनाएको छ । आचार्यले भने पावर टेलर खरिदमा नगर प्रमुखले ५ लाख कमिसन नपाएको झोकमा प्रहरी बोलाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका छन् ।









