गुलरिया बालापुरकि सहासि महिला: जसले चितुवाको मुखबाट नाति खोसिन्

चितुवाबाट खोसेको नाति काखमा च्यापेर जब उनी पति भरतमणिनजिक आइपुगिन्, चितुवाको डरले भरतमणि पहिल्यै बेहोस भइसकेका रहेछन्

बर्दिया/ईकान्तिपुर —गुलरिया नगरपालिका–५ बालापुरका ४९ वर्षीय भरतमणि थारू र उनकी पत्नी ४९ वर्षीया गोब्री बुधबार दिउँसो दुई नातिलाई लिएर गुलरिया नगरपालिका–४ तुलसीपुरस्थित खेतमा पानी लगाउन पुगेका थिए । दुई नातिलाई खटियामा राखेर भरतमणि मासमा पानी लगाउँदै थिए ।

Advertisement

गोब्री खेतमा उम्रेको साग टिपेर केलाउँदै थिइन् । नजिकै खटियामा दुई नाति ९ वर्षीय अर्पण र ७ वर्षीय सिर्जन खेलिरहेका थिए ।

एक्कासि चितुवाले बालक सिर्जनलाई झम्टियो र बोकेर मकैबारीतिर लग्यो । गोब्री चिच्याउँदै, हारगुहार गर्दै चितुवाको पछिपछि दौडिइन् । मानिसले कराउँदै लखेटेकाले चितुवा डरायो र बालक सिर्जनलाई छाड्यो ।

चितुवाबाट बचाएको नातिलाई काखमा च्यापेर जब उनी पति भरतमणिनजिक आइपुगिन्, चितुवाको डरले भरतमणि पहिल्यै बेहोस भइसकेका रहेछन् । मुखमा परेको ‘सिकार’ उम्किएकाले नजिकै चितुवा जोडजोडले कराइरहेको थियो । स्थिति त्रासपूर्ण थियो । अब के गर्ने ? बालखा नातिहरू, बेहोस पति र स्वयं आफूलाई चितुवाबाट जोगाउनुपर्ने अवस्था थियो ।

गोब्रीले फेरि आँट जुटाइन् । घाइते नातिलाई बेहोस पतिसँगै छाडिन् र चिच्याउँदै हारगुहार माग्दै करिब दुई मिटर पर रहेको घरमा पुगिन् । त्यस घरका मानिसलाई बोलाएर ल्याइन् । आफूसहित सबैलाई जोगाइन् ।

घाइते बालकको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्रासपूर्ण परिस्थितिको सामना गर्नुपरेकाले, कराएकाले र दौडिएकाले गोब्रीलाई ज्वरो आएको छ । भन्छिन्, ‘साहस जुटाएर नातिलाई चितुवाबाट छुटाएँ ।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु