वडाध्यक्षलाई विद्युत पोलमा बाँधेर कुटपिट

 

दाङ/ दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय वडाध्यक्ष कुलबहादुर कार्कीलाई राति विद्युतको पोलमा बाँधेर निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

Advertisement

चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नम्बर ९ डौंसुरका चार जना युवाहरूको समूहले चैते दसैंको दिन राति ९ बजेतिर वडाध्यक्ष कार्कीलाई विद्युत पोलमा बाँधेर निर्घात कुटपिट गरेका थिए।

कुटपिट गरिएका कार्की नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्। कार्कीलाई राति पोलमा बाँधेर कुटपिट गरिएको भिडिओ फेसबुकमा राखिएको थियो।

दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालका अनुसार वडाध्यक्ष कार्कीले चैत २७ गते बेलुकी जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूमाथि भएको कुटपिटमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीका लागि उजुरी दिएका थिए।

कार्कीले कुटपिट गर्नेहरूविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी उजुरी दिएका थिए।

त्यो उजुरीका आधारमा प्रहरीले सोही दिन राति साढे ९ बजेतिर स्थानीय ३३ वर्षीय नगेन्द्र रावल, २४ वर्षीय टोपेन्द्र रावल र १९ वर्षीय विशाल खड्कालाई नियन्त्रणमा लिएको थियो।

वडाध्यक्षले किटानी जाहेरी दिएकामध्ये स्थानीय २१ वर्षीय वीरेन्द्र खड्का भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए।

वडाध्यक्ष कार्कीका अनुसार उनी त्यस दिन आफन्तको घरतर्फ जाँदै थिए। आफन्तको घर नपुग्दै चार जना युवाले बाटो छेकेर आफूमाथि कुटपिट सुरू गरेको उनले बताएका छन्। सेतोपाटी ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु