चाडपर्वमा बेलहिया सीमामा नागरिक सहायता कक्ष सञ्चालनमा

 

भैरहवा — चाडपर्वका बेला यात्रु तथा पर्यटकलाई हुन सक्ने हैरानी एवं ठगी नियन्त्रण गर्दै गन्तव्यसम्म पुर्‍याउनका लागि प्रमुख सिमानाका सुनौली/बेलहियामा नागरिक यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

Advertisement

नजिकिँदो दसैं, तिहार र छठ पर्व मनाउन भारत लगायत विदेशबाट घर आउने नेपाली यात्रु र अन्य पर्यटकलाई सीमानाकामा र यात्रा अवधिमा हुन सक्ने ठगी एवं लुटपाट जस्ता सम्भावित घटनाबाट सुरक्षित बनाउन बिहीबारदेखि बेलहियामा एकीकृत नागरिक यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

यो यात्रु कक्षसहित यात्रुको आवागमन र बढी भिड हुने रुपन्देहीको कालिदह नाका, लुम्बिनी, भैरहवा र बुटवलको बसपार्कमा गरी पाँचवटा स्थानमा पनि बिहीबारदेखि यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालयको पहलमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । यात्रु कक्ष सञ्चालनकालागि स्वास्थ्य कार्यालय, पर्यटन प्रहरी, सिद्धार्थनगर नगरपालिका र स्थानिय संघसंस्थाले सहयोग गरेका छन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले यात्रु कक्षमा बिरामी यात्रुको उपचार र स्वास्थ्य जाँचकालागि औषधिसहित स्वास्थ्यकर्मी समेत उपलब्ध गराइएको बताए । ‘यात्रु सहायता कक्षमा लामो तथा छोटो दुरीका बसका चालक र सहचालकको नियमित स्वास्थ्य परीक्षण गरिने छ,’ अर्यालले भने, ‘चालकको रक्तचाप, ज्वरो, आंखाको भिजन, मादक पदार्थ सेवन लगायत्का जाँच गरिने छ ।’

यात्रु सहायता कक्षमा बेलहिया/भैरहवाबाट मुलुकभरी बस सञ्चालन हुने स्थानको निर्धारित यात्रु भाडा दर सहितको सूचना बोर्ड राखिएको छ ।

रुदपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बेलहिया सिमानाका चाडपर्वको बेलामामात्र नभएर अन्य जुनसुकै वेलामापनि यात्रु र पर्यटकको आवागमनले भिड हुने गर्दा चाडपर्वलाई लक्षित गरी स्थापना गरिएको यात्रु सहायता कक्षलाई निरन्तरता दिनेबारेमा पहल गरिने बताए ।

‘चाडपर्वका बेला जताततै यात्रु सहायता कक्षको स्थापना हुन्छन् र सुरुवातीका केही दिनपछि तिनको प्रभावकारीता हराउँदै जाने गर्छ,’ उनले भने, ‘यात्रु सहायता कक्षलाई प्रभावकारी बनाउन निरन्तर अनुगमन गर्ने छौं ।’

दसैं, तिहार र छड जस्ता चाडपर्वका बेलामा बेलहिया सीमामा यात्रु तानातान, चोरी, लुटपाट, दुर्व्यवहार, बसको एउटै सिट टिकट धेरैजनालाई दिने, धेरै भाडा दर असुल्ने जस्ता ठगी हुने गर्छन् ।

सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानले चालक र सहचालकलाई उच्च सम्मान गर्दै उनीहरुलाई आफ्नो दायित्व र जिम्मेवारीको बोध गराउनु पर्ने बताए । ईकान्तिपुर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु