कपिलवस्तु —अर्घाखाँची कपिलवस्तुको सीमा क्षेत्रको वनमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–९, गव्दहवा बस्ने २८ वर्षका समुन्द्र गाहामगरको खुट्टामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनमणि अधिकारीले बताए ।
Advertisement
शनिबार दिउँसो १२ बजेतिर सोही ठाउँ बस्ने ३४ वर्षे रामबहादुर थारु र राम थारु सिकार खेल्न आफ्नो गाउँदेखि ६ किलोमिटर उत्तर खैरभट्टी जाने सिमानामा रहेको बुद्ध यशोधरा सामुदायिक वनमा सिकार खेल्न गएका थिए ।
सिकार खेल्ने क्रममा सवारी साधनको आवाज आएको सुनेपछि लुक्न खोज्दा रामबहादुर थारुसँग रहेको भरुवा बन्दुक दिउँसो ४ बजेतिर पड्किँदा समुन्द्रको खुट्टामा गोली लागेको थियो । गोली लागेर सख्त घाइते अवस्थाका समुन्द्रलाई कसैलाई थाह नदिइ उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो । त्यहाँ उनको शनिबारै मृत्यु भएको थियो
घटना शंकास्पद भएको कुरा चिकित्सकले अस्पतालमा रहने प्रहरीलाई बताएपछि रुपन्देही प्रहरीमार्फत कपिलवस्तु प्रहरीलाई सूचना आएको थियो । यसपछि इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी अनुसन्धानमा लागेपछि आइतबार घटना बाहिर आएको थियो । प्रहरी अनुसन्धानले मगरलाई गोली लागेर मृत्यु भएको बताएको छ
प्रहरीले आइतबार घटनामा संलग्न रहेको आरोपमा रामबहादुर थारु र राम थारुलाई पक्राउ गरेको छ । त्यस्तै , घटना भएपछि हतियार लुकाउन सहयोग गरेको आरोपमा सोही ठाउँ बस्ने प्रवेश थारुलाई पक्राउ गरेको छ । घटनापछि वन क्षेत्रमा लुकाइएको एउटा फायर गरिएको र अर्को लोड रहेको दुई थान भरुवा बन्दुक पनि बरामद गरेको छ ।मृतक गाहामगर बाख्रा चराउन गएको भनिए पनि उनी सिकार खेल्न गएको हुन सक्ने अनअुमान प्रहरीको छ । उनको एउटा खुट्टामा लागेको गोली र अर्को खुट्टा समेत छेडेर गएको डिएसपी अधिकारीले बताए । ईकान्तिपुर ।









