बर्दियामा लागुऔषधको ओसार–पसार बढ्दो, ९ महिनामा ९१ मुद्दा दर्ता

बर्दिया /ईकान्तिपुर।— बर्दियामा चालु आर्थिक वर्षको नौ महिनामा लागुऔषधका ९१ मुद्दा दर्ता भएका छन् । यी मुद्दा गत साउनदेखि चैत मसान्तसम्मका हुन् ।

प्रहरीमा दर्ता भएका मुद्दामा संलग्न युवाहरु १९ देखि ३० वर्षबीचका रहेका छन् । प्रहरीमा दर्ता भएका मुद्दामध्ये गत तीन वर्षको तथ्यांक हेर्दा लागुऔषधका मुद्दा बढ्दै गएका छन् ।

Advertisement

०७८/०७९ मा ३३, ०७९/०८० मा ५६ र ०८०/०८१ मा १ सय २४ वटा लागु औषधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा छ । जिल्लामा हुने अपराधिक क्रियाकलपामा लागुऔषध सेवनकर्ताहरुको संलग्ना सबैभन्दा उच्च छ ।

भारतसँगको ८३ किलोमिटर खुला सिमानाका कारण लागुऔषध सहज रुपमा भित्रिने गरेको छ । प्रहरी निरीक्षक भुपेन्द्र शाहीका अनुसार लागुऔषध मुद्दामा हालसम्म १ सय ३८ जनालाई पक्राउ गरिएको छ ।

उनले भने, ‘यस अवधिमा ५ किलो ८ सय २४ ग्राम गाँजा, २ किलो १ सय ६ ग्राम ८ सय मिलीग्राम चरेश, १ सय २ ग्राम ८ सय ९९ मिलीग्राम ब्राउन सुगर र १ सय ३६ लागुऔषधका ट्याब्लेट बरामद भएको छ ।’

लागुऔषध नियन्त्रणका लागि गत असोजदेखि जिल्ला सुरक्षा समितिले तीन महिने अभियानसमेत सञ्चालन गरिसकेको छ । त्यसैगरी प्रहरीले दिनहुँ विद्यालय, सार्वजनिक स्थल, मेला महोत्सवमा पर्चा पम्पलेट वितरण गर्नुको साथै व्यापक रुपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु