दसैंको मुखमा चिनीको हाहाकार

 

काठमाडौ । दसैंको मुखमा बजारमा चिनीको हाहाकार भएको छ। बजारमा उपभोक्ताहरूले सहजै चिनी किन्न नपाएको गुनासो गरेका छन्।

Advertisement

चिनी नभएर ग्राहकलाई खाली हात पठाउन परेको काठमाडौंका खुद्रा व्यवसायी चन्द्र थापा बताउँछन्।

‘दुईसाता भइसक्यो हामीले चिनी नपाएको,’ उनले भने, ‘ग्राहकलाई त्यसै पठाउन परेको छ।’

चिनी नपाउँदा बजारमा उपभोक्तालाई दसैं आए जस्तो अनुभूति हुन सकेको छैन।

सरकारले खुद्रा बजारमा चिनी उपलब्ध गराइदिए ५० पैसा मात्रै नाफा राखेर बेच्न आफूहरू तयार भएको उनले बताए।

‘चाडपर्वका बेला ग्राहकलाई चिनी दिन नसक्दा हामी चिन्तित छौं,’ उनले भने, ‘सरकारले खुद्रा बजारमा चिनी ल्याइदिने व्यवस्था गर्न पर्‍यो। हामी फाइदै नराखी बेच्न तयार छौं।’

बजारमा एक महिनादेखि नै चिनीको आपूर्ति कम हुन थालेको खुद्रा व्यवसायी संघका कोषाध्यक्ष बसन्त श्रेष्ठले बताए।

उनकाअनुसार अधिकांश होलसेल पसलमै चिनीको अभाव छ। कुनै होलसेलमा चिनी पाएपनि महँगो मूल्यका कारण खुद्रा व्यापारीले ल्याउन सकेका छैनन्।

‘धेरैजसो होलसेलमा चिनी नै छैन। कुनै पसलमा पाएपनि चिनी बेच्न सक्ने अवस्था छैन,’ उनले भने, ‘उनीहरूको आफ्नै मूल्य छ। यहाँ ल्याएर बेच्नै सकिँदैन।’

सरकारले फ्याक्ट्री तथा होलसेल पसलमा चिनीको मौज्दात र मूल्यबारे अनुगमन गर्नुपर्ने उनले बताए।

‘पहिले पनि सरकारले अनुगमन गरेपछि केही परिमाण चिनी मौज्दात भेटिएको थियो,’ उनले भने, ‘फेरि अनुगमन गर्नुपर्ने बेला भएको छ।’

१५ दिनदेखि चिनीको गोदाम रित्तिएको थोक व्यापारी इश्वर श्रेष्ठ बताउँछन्।

बजारमा ठूला व्यापारीको हातमा चिनी भएकाले आफूहरूले चिनी नपाएको उनको दाबी छ। कुनै व्यापारीबाट चिनी खरिद गर्न पाएपनि उनीहरूले बिल जारी नगर्ने गरेको थोक व्यापारीहरू बताउँछन्।

‘उद्योगीले बढी मूल्यमा चिनी दिइरहेका छन् भने कमको बिल बनाउँछन्,’ एक व्यापारीले भने, ‘त्यसैले चिनी ल्याएर बेच्न सक्ने अवस्था पनि छैन।’

केही समय अघि वाणिज्य विभागले अनुगमन गरेर चिनी मौज्दात भेटेपछि ठूला व्यापारीले चिनी लुकाउन थालेको ती व्यापारीको भनाइ छ।

‘उद्योगी चिनी उत्पादन गर्छन् र आफ्नै भातृ कम्पनीलाई बेच्छन्,’ उनले भने, ‘सरकारले बाहिरबाट चिनी ल्याउन खोज्दा हामीसँगै चिनी छ भनेर गोदाममा देखाउँछन्।’

तर, आफूहरू किन्न जाँदा भने बचिसक्यौं भनेर नदिने गरेको थोक व्यापारीहरू बताउँछन्। महँगोमा बिल नदिई बेच्न भने उनीहरू तयार हुन्छन्।

उनले थपे, ‘उद्योगीले न बाहिरबाट चिनी आउन दिए न भएको चिनी हामीलाई उचित मूल्यमा बेच्न दिए।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैं–तिहारलाई चिनी अभाव हुन नदिने बताएको छ।

चिनी अभाव हुन नदिन मन्त्रालयले विभिन्न प्रयास गरिरहेको मन्त्रालयको प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए।

‘हामीले भारतबाट मगाएको चिनी आउँदैछ,’ उनले भने, ‘दसैं–तिहारलाई चिनी अभाव हुन दिँदैनौं।’

उनकाअनुसार सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०/१० हजार टन चिनी ल्याउन अनुमति पाएका छन्।

जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ दिने म्याद सहित असोज १० गते टेण्डर आह्वान गरेको हो। जसको अवधि कात्तिक २५ गते सकिन्छ।

साल्ट ट्रेडिङले आह्वान गरेको टेन्डरको म्याद असोज २० गते सकिसकेको छ। साल्ट ट्रेडिङले दसैंमा र खाद्यले तिहारमा चिनी ल्याउने प्रयास गरिरहेको छ।

त्यस्तै, सरकारले जिटुजी प्रक्रियामार्फत् ५० हजार टन चिनी ल्याउन कूटनीतिक पहल भइरहेको समेत उनको भनाइ छ।

सो परिमाणको चिनी ल्याउन साउनमै उच्चस्तरीय पहल गरिएको हो तर हालसम्म निर्णय भएको छैन।

सहुलियत पसलमा चिनी राख्न वाणिज्य विभागले उद्योगीसँग चिनी सापटी समेत मागिरहेको छ।

वाणिज्य विभागका सूचना अधिकारी आनन्दराज पोखरेलकाअनुसार उद्योगमा एक लाख ८८ हजार टन चिनी मौज्दात छ।

तर, आधाभन्दा बढी चिनी कोकाकोला, पेस्सी लगायत बढी चिनी खपत हुने कम्पनीले खरिद गरेर उद्योगमै राखेका छन्। बाँकी चिनी बजारमै जानेछ।

कम्पनीले उद्योगका लागि खरिद गरेको चिनीबाट केही परिमाण चिनी सहुलियत पसलका लागि दिन विभागले अनुरोध गरेको हो।

‘उनीहरूलाई सबै चिनी अहिले चाहिने होइन। हामीलाई थोरै दिनुहोस्, हामी हाम्रो चिनी आएपछि दिन्छौं भनेका हौं,’ विभागका सूचना अधिकारी पोखरेलले भने, ‘छलफलकै क्रममा छौं, निर्णयमा पुगिसकिएको छैन।’

सरकारले गत आइतबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ। सहुलियत पसलमा पनि उपभोक्ताले चिनी पाउन सकेका छैनन्। सेतोपाटि ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु