रेशम चौधरी पक्राउ प्रक्ररणः गृहीमन्त्रीले बैशाख २५ मा जवाफ दिने, अवरुद्ध प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ/ईकान्तिपुर — प्रतिनिधिसभाको मंगलबारको बैठक सत्तारुढ दलहरू नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले केहीबेर अवरुद्ध गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई वैशाख १७ मा पक्राउ गरिएको विषयमा छानबिन माग गर्दै दुवै पार्टीले प्रतिनिधिसभा बैठकको कामकारबाही अवरुद्ध गरेका हुन् ।

सभामुख देवराज घिमिरेलाई सरकारका नाममा रुलिङको माग गर्दै दुवै पार्टीले सदन अवरुद्ध गरेका थिए । तर सभामुख घिमिरेले भने संसद्को शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिन भनिसकेको भन्दै रेशम चौधरीको पक्राउ सम्बन्धमा रुलिङ गर्न मानेनन् ।

Advertisement

त्यसपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदले सिटबाट उभिएर बैठकको कारबाही अगाडि बढाउन दिएनन् । सभामुखले नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिन खोजेपछि दुवै दलका सांसदले अवरुद्ध गरेका हुन् ।

प्रतिनिधिसभाको आकस्मिक र शून्य समय चल्न दिएपनि नीति तथा कार्यक्रममाथिको छलफल भने दुवै पार्टीले अगाडि बढाउन दिएनन् ।

सभामुख घिमिरेले सांसदले उठाएका कुरा सरकारले सुनेको पटकपटक दाबी गरे । सरकारले उचित समयमा जवाफ दिने तर त्यो कहिले हो भन्ने आफूले जवाफ दिन उचित नभएको उनको भनाइ थियो ।

दुवै पार्टीका सांसदले भने सोमबारकै बैठकमा सरकारले जवाफ नदिए मंगलबारदेखि संसद् अवरुद्ध गर्ने जानकारी दिएको भन्दै बस्न अस्वीकार गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले वैशाख २५ मा गृहमन्त्री रमेश लेखकले जवाफ दिन्छु भनेर मौखिक प्रतिबद्धता जनाएको जानकारी दिए । त्यसपछि नागरिक उन्मुक्ति र जनमतका सांसद आफ्नो सिटमा बसेका थिए । र नीति तथा कार्यक्रममाथि छलफलले निरन्तरता पाएको छ ।

यसअघि, प्रतिनिधिसभा बैठकको सुरुमै नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १७ मा रेशम चौधरीको पक्राउको निष्पक्ष छानबिन गरिदिन सरकारसँग आग्रह गरेकी थिइन् ।

वैशाख १७ मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरी प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरिएको थियो । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता हुने कार्यक्रममा सहभागी हुन जाँदा प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्र लिएर गएको प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टीले भने उक्त घटनाको निष्पक्ष छानबिन गरिदिन र आगामी दिनमा त्यस किसिमका घटना नदोहोरिने सुनिश्चितता गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त पार्टीकी अध्यक्ष श्रेष्ठले सरकारसँग उक्त माग गरेकी हुन् ।

‘म सरकारमा छु, सत्तापक्षमा छु तर लोकतन्त्रको मूल आत्मा भनेको सत्यको पक्षमा उभिनु हो । प्रश्न गर्नु, प्रतिवादन गर्नु र न्यायको पक्षमा बोल्नु लोकतन्त्रको मर्म हो । सरकारसँग प्रश्न छ कसरी एक निर्वाचित प्रतिनिधि, जननेता एक कार्यक्रमस्थलबाट पक्राउ पर्छन् ? कसरी राज्यका संयन्त्रहरूले व्यक्तिको रिसिइबीलाई कानुनभन्दा माथि राख्छन् ?,’ श्रेष्ठले भनिन्, ‘म आक्रोश होइन, आग्रह लिएर आएकी छु । सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु यो घटनाको गहिरो अध्ययन होस्, यहाँ केबल एक जनाको गिरफ्तारी होइन संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ । वैशाख १७ मा भएको घटनामा भएको प्रशासनिक मनोमानिको निष्पक्ष छानबिन होस् ।’

पार्टी सरकारको जवाफको प्रतिक्षामा रहेको अध्यक्ष श्रेष्ठले बताइन् । उनले भनिन्, ‘हामी जवाफको प्रतीक्षामा छौं । यस्ता घटना भावि दिनमा जनप्रतिनिधिभाथि यस किसिमको व्यवहार नदोहोरियोस् भन्न चाहन्छु ।’ उनले संसद्ले पनि यस घटनामा आफ्नो निगरानी राख्नुपर्ने र लोकतन्त्रप्रति विश्वास कायम राख्ने वातावरण बनाउनुपर्ने माग गरिन् ।

रेशम चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता बिथोलिएको छ । चौधरीलाई पक्राउ गर्न चिठी लेख्ने सर्वोच्च अदालतका अधिकृतलाई प्रहरीले वैशाख १७ मै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु