भारतको हमलामा मसुद अजहरको परिवारका १० सदस्यको मृत्यु

बीबीसी-संयुक्त राष्ट्रसङ्घले आतङ्ककारी भनेको पाकिस्तान निवासी मौलाना मसुद अजहरले बहावलपुरको शुभानअल्लाह मस्जिदमा भएको भारतीय हमलामा उनको परिवारका १० सदस्य तथा ४ निकट सहयोगी मारिएको बताएका छन्।

बुधवार उनको नेतृत्वको जैश-ए-मोहम्मद (जेइएम) समूहले एक वक्तव्य जारी गर्दै मारिनेहरूमा उनका दिदी र भिनाजु, भतिजा र भतिजा बुहारी अनि भतिजीसहित परिवारका अन्य पाँच बालबालिका रहेको उल्लेख गरेको छ।

Advertisement

सन् २०१९ को फेब्रुअरीमा भारत प्रशासित कश्मीरमा जेइएमले गरेको हमलामा ४० प्यारामिलिटरी सैन्य मारिएपछि दुई छिमेकी युद्धको संघारमा पुगेका थिए।

१ घण्टा पहिलेभारत प्रशासित कश्मीरमा ‘कम्तीमा १० जनाको मृत्यु’,मारिने सबै एलओसीनजिकैको पुन्छ जिल्लाका सर्वसाधारण
सीमापार बमबारीका क्रममा भारतमा मारिने सर्वसाधारणको सङ्ख्या १० पुगेको एक शीर्ष सैन्य अधिकारीले बीबीसीलाई बताएका छन्।

ती सबै भारत प्रशासित कश्मीरको पुन्छ जिल्लामा रहेको बताइएको छ।

यसअघि त्यस जिल्लाका एक शीर्ष अधिकारीले त्यहाँ भएको गोलाबारीमा परेर कम्तीमा सातजना मारिनुका साथै ३२ जना अन्य घाइते भएको बीबीसीलाई बताएका छन्।

पुन्छ भारत र पाकिस्तानबीचको नियन्त्रित सीमारेखा अर्थात् एलओसीनजिकै पर्छ।

“बमबारी हाललाई रोकिएको छ। हामी स्थलगत रूपमा अवस्था बुझ्दैछौँ,” सो जिल्लाका सब-डीभिजनल मजिस्ट्रेट अजहर मजिदले भने।

यसअघि भारतीय सेनाका प्रवक्ताले उक्त क्षेत्रमा तीनजना मारिएको पुष्टि गरेका थिए।

‘अपरेशन सिन्दूर’ के हो

भारतले अहिले पाकिस्तानी भूमिमा थालेको सैन्य कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नामकरण गरेको छ। आफूले पाकिस्तानका सैन्य स्थललाई नभई आतङ्ककारीहरूका थलोलाई लक्ष्य गरेको दाबी भारतको रहेको छ।यसबारे पाकिस्तानले पनि प्रतिक्रिया व्यक्त गरेको छ।

भारतका विदेशसचिव विक्रम मिस्रीले एप्रिल २२ मा पहलगाममा भएको घटना गराउने र त्यसको योजना बनाउने पात्रहरूविरुद्ध भारतले सैन्य कारबाही गरेको बताएका छन्।

दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले [पहलगामकै जस्तो] थप हमला हुन लागेको गुप्त सूचना भारतले प्राप्त गरेको दाबी गरे।

“त्यसैले त्यस्तो प्रयासलाई रोक्नुपर्ने बाध्यता थियो,” उनले भने।

भारतीय हमलाबाट २६ सर्वसाधारण मानिसको मृत्यु – पाकिस्तानी सेना

पाकिस्तानी सेनाले भारतीय हमलामा परेर आफ्नो देशमा कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको जनाएको छ।

सेनाका प्रवक्ता लेफ्टिनन्ट जेनरल अहमद शरीफ चौधरीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरी ६ स्थानमा हमला भएको बताउँदै त्यस क्रममा कम्तीमा ४६ जना घाइते भएको समेत बताए।

इस्लामाबादले “भारतीय हमलाको बदला लिने बताउँदै पाँच वटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालिदिएको” समेत दाबी गरेको छ। हालसम्म भारतले उक्त दाबीका सम्बन्धमा कुनै टिप्पणी गरेको छैन। भारत प्रशासित कश्मीरमा समेत कैयौँ नागरिक हताहत भएको विवरण आएका छन्। दुवैतर्फबाट विवादित सीमावारपार भीषण गोलाबारी चलिरहेको बताइएको छ।

भारतका विपक्षी दलका नेताहरूले सैन्य हमलाप्रति समर्थन जनाउँदै प्रतिक्रिया दिएका छन्। मुख्य विपक्षी दल कङ्ग्रेसका प्रमुख मल्लिकार्जुन खरगेले भने, “राष्ट्रिय एकता र ऐक्यबद्धता अहिलेको आवश्यकता हो।”

उनले गत महिना भारत प्रशासित कश्मीरमा हमला भए देखि नै आफ्नो पार्टी स्पष्ट रूपमा भारतीय सैन्य बल तथा सरकारद्वारा सीमापारिबाट हुने आतङ्क रोक्ने निर्णायक कदमको पक्षमा रहेको उल्लेख गरे।

अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमिन (एआईएमआईएम)का प्रमुख असदुद्दिन ओवैसीले भारतले ‘पाकिस्तानका आतङ्की शिविर’हरूमा गरेको ‘सर्जिकल स्ट्राइक’को स्वागत गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्रीले के भने

भारतले गरेको क्षेप्यास्त्र आक्रमणबारे प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले त्यसलाई “कायरतापूर्ण”को सङ्ज्ञा दिएका छन्।

एउटा विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानले बदला लिने पनि बताएका छन्। पाकिस्तान सरकारले भारतीय हमलामा कम्तीमा आठ जनाको ज्यान गएको पुष्टि गरेको छ। पढ्नुहोस् विस्तारमा भारतले गरेको हमलाबारे पाकिस्तान सरकारको आक्रोशपूर्ण प्रतिक्रिया

पाकिस्तानका विभिन्न स्थानमा भारतले गरेको हमलाबारे प्रत्यक्षदर्शी के भन्छन्

पाकिस्तानको पञ्जाब प्रान्तको मुरिद्केका बासिन्दा मुहम्मद युनिस शाहले भारतले प्रहार गरेका चार क्षेप्यास्त्र एक शैक्षिक संरचनामा खसेको बीबीसीलाई बताएका छन्। पहिलो तीन क्षेप्यास्त्र एकपछि अर्को गर्दे खसेको र चौथो चाहिँ पाँच-सात मिनेटको अन्तरालपछि खसेको उनले बताए।

स्कूल, कलेज, होस्टल तथा मेडिकल कम्प्लेक्स समेत रहेको उक्त परिसरमा आंशिक क्षति पुगेको छ। शाहले त्यहाँ आवासीय क्षेत्र पनि रहेको र केही परिवार त्यहाँ बस्ने गरेको बताए।

उनका अनुसार त्यहाँ उद्धारकर्मी, अग्नि नियन्त्रक तथा प्रहरी पुगेको र मानिसहरूमा त्रास व्याप्त रहेको छ। “सबै मानिसहरूलाई अन्य सुरक्षित ठाउँमा लगिएको छ,” उनले भने।

तस्बिरको क्याप्शन,पाकिस्तान प्रशासित कश्मीरस्थित बिलाल मस्जिद पनि आक्रमणमा ध्वस्त भएको बताइएको छ
मुहम्मद वाहिद पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फरावाद्स्थित बिलाल मस्जिद नजिकै बस्छन्।

“म गहिरो निद्रामा थिएँ जतिखेर पहिलो विस्फोटले मेरो घर हल्लियो,” उनले बीबीसीलाई भने।

“म भागेर सडकमा पुगेँ जहाँ मानिसहरू जम्मा भइसकेका थिए। के भइरहेको छ भनेर भेउ पाउन अगावै थप तीन क्षेप्यास्त्र खस्यो जसले निकै त्रास फैलियो र हडकम्प मच्चियो।”

महिलासहित दर्जनौँ मानिसहरू घाइते भएका र नजिकैका अस्पतालमा लगिएका वाहिदले बताए।

“किन हाम्रो स्थानीय मस्जिदलाई निसाना बनाइयो भनेर मैले बुझेको छैन,” वाहिदले भने।

“यो हाम्रो बस्तीको एउटा साधारण मस्जिद थियो जहाँ हामी दिनको पाँच पटक नमाज पढ्थ्यौँ। हामीले यहाँ कहिल्यै कुनै शङ्कास्पद गतिविधि भएको देखेनौँ।”

“मानिसहरू आफ्ना घर छाडेर भागिरहेका छन् अनि यहाँ निकै धेरै अनिश्चयपूर्ण स्थिति छ।”

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु