भारत र पाकिस्तान ‘पूर्ण तथा तत्काल युद्धविराम गर्न सहमत’


बिबिसि – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले “भारत र पाकिस्तान पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमत भएको” बताएका छन्। भारतीय र पाकिस्तानी अधिकारीहरूले पनि युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन्।

सामाजिक सञ्जालको प्ल्याट्फर्म ‘ट्रूथ सोशल’मा एउटा सन्देश लेख्दै अमेरिकी राष्ट्रपतिले भनेका छन् : संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ।

Advertisement

“सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेकामा म दुवै देशलाई बधाई दिन चाहन्छु।”

गत महिना भारत‍-प्रशासित कश्मीरको पहलगाममा सन्दिग्ध चरमपन्थी लडाकुहरूले गोली हानी २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो। चरमपन्थीहरूलाई पाकिस्तानले सघाएको आरोप भारतले लगाएको थियो। तर पाकिस्तानले त्यसको खण्डन गरेको थियो।

यो साता भारतले पहलगाम घटनाको जबाफ दिन भन्दै पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरका विभिन्न स्थानमा हवाई हमला गरेको थियो। त्यसपछि दुवै पक्षले एकअर्काले आफ्नो भूमिमा गोलाबारी गरेको अनि क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको आरोप लगाउँदै आएका थिए।

भारतले सैन्य कारबाही थालेपछि दुवै देशमा मानिसहरू हताहत भएको विवरण आएको छ।

भारतका विदेशसचिव विक्रम मिसरीले भारत र पाकिस्तान दुवै देशले स्थानीय समयानुसार अपराह्ण ५ बजेदेखि लागु हुने गरी “स्थल, हवाई र समुद्री हमला” रोकेको पुष्टि गरेका छन्।

उनका अनुसार पाकिस्तानका सैन्य कारबाही मामिलाका महानिर्देशकले उनका भारतीय समकक्षीलाई सम्पर्क गरेका थिए र दुवै पक्षले एकअर्कामाथि हमला नगर्ने सहमति जनाएका थिए।

भारतका विदेशमन्त्री एस जयशङ्करले पनि “भारत र पाकिस्तानले आज गोलाबारी र सैनिक कारबाही रोक्न एउटा सहमति” गरेका हुन्।

“भारतले सबै प्रकार र स्वरूपका आतङ्कवादविरुद्ध दह्रो र कडा अडान निरन्तर कायम गर्दै आएको छ। अनि भारतले त्यस्तो अडान कायमै राख्ने छ,” उनले भने।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारले पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सन्देशपछि सोशल मिडियामा लेख्दै पाकिस्तान र भारत युद्धविरामका लागि सहमत भएको जानकारी दिएका थिए।

“पाकिस्तान र भारत तत्काल लागु हुने गरी सङ्घर्षविरामका लागि तयार भएका छन्। पाकिस्तान सदैव आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताका लागि कुनै सम्झौता नगरीकनै यो क्षेत्रमा शान्ति र सुरक्षा चाहन्छ।”

 

पाकिस्तानको विमानस्थल निकाय ‘एपीए’ले देशको हवाई क्षेत्र सबै प्रकारका उडानहरूका निम्ति खुला गरिएको बताएका छन्।

एपीएको वक्तव्यका अनुसार देशका सबै विमानस्थलहरू समान्य उडान तालिकाहरूका लागि उपलब्ध छन्।

भारत र पाकिस्तानले एकअर्काका वायुसेवा कम्पनीहरूलाई आफ्नो हवाईमार्ग प्रयोग गर्न प्रतिबन्ध लगाएका थिए।

सैन्य द्वन्द्व बढेपछि तथा ड्रोन र क्षेप्यास्त्र आक्रमणका घटनाहरू बढेपछि पाकिस्तानले अरू देशका विमानहरूलाई पनि आफ्नो आकाश सकेसम्म प्रयोग नगर्न सुझाव दिएको थियो।

‘विविध विषयमा वार्ता हुने’
अमेरिकाका विदेशमन्त्री मार्को रुबिओका अनुसार भारत र पाकिस्तान “तत्काल युद्धविराम गरेर कुनै तटस्थ स्थानमा विविध विषयमा वार्ता गर्न सहमत भएका छन्।”

“शान्तिको मार्ग रोजेकोमा हामी प्रधानमन्त्रीद्वय मोदी र शरिफको बुद्धिमत्ता, सावधानी र राजनेताको गुणको प्रशंसा गर्छौँ,”सामाजिक सञ्जाल ‘एक्स’मा उनले लेखेका छन्।

उनका अनुसार उपराष्ट्रपति जेडी भान्सले विगत ४८ घण्टामा भारत र पाकिस्तानका प्रधानमन्त्रीहरू समेत वरिष्ठ अधिकारीहरूसँग [युद्धविरामको विषयमा] कुरा गरेका थिए।

भारतको रक्षा अधिकारीको पत्रकार सम्मेलन
भारतीय रक्षा मन्त्रालयले नयाँ दिल्लीमा एक विशेष ब्रिफिङ गरेको छ।

भारतीय नौसेनाका क्याप्टेन रघु नायरले युद्धविरामलाई आफूहरूले स्वीकार गरेको र त्यसको पालना भइरहेको पुष्टि गरे। उनले देशको नौसेना, वायुसेना र स्थल सेनालाई त्यसको पालना गर्न निर्देशन दिइएको बताए।

उनले केही दिनअघि भएका दुःखद घटनाहरू यता भारतको प्रतिक्रिया “सन्तुलित र जिम्मेदारीपूर्ण” रहेको बताए।

नायरले पत्रकार सम्मेलनमा बोल्दै भारतीय स्थल सेना, नौसेना र सशस्त्र बलहरूले शनिवार भएको सम्झौताको पालना गर्ने तर “भारतको सार्वभौमिकताको सुरक्षा गर्न सतर्क” रहने बताए।

“हामी हाम्रो राष्ट्रको रक्षाका लागि आवश्यक पर्ने कुराहरू गर्न तयार छौँ,” उनले अन्त्यमा बताए।

त्यस्तै विङ कमाण्डर व्योमिका सिंहले पाकिस्तानले “मिथ्या सूचनाको अभियान” नै चलाउने कैयौँ प्रयास गरेको बताइन्।

सिंहले “कुनै पनि धार्मिक स्थललाई भारतीय सशस्त्र फौजले निसाना नबनाएको” बताइन्।

उनले लडाइका क्रममा मस्जिदहरूमा प्रहार भएको भन्ने पाकिस्तानी दाबीलाई अस्वीकार गरिन।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु