सर्लाहीका उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्

 

रासस/ सर्लाही। सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।

Advertisement

जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई रु ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल रु ७० का दरले रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ उखु बेचेको सात महिना हुँदासमेत नपाएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।

उनका अनुसार दसैँको मुखमा पनि उखु बेचेको अनुदानबापतको रकम नपाउँदा जिल्लाका किसान निराश भएका छन् । उखु बेचेको अनुदानबापतको रकम नदिँदा जिल्लाका उखु उत्पादन किसानमा दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको अध्यक्ष मैनालीले बताए ।

जिल्लाका इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई आर्थिक वर्ष २०७९÷८० मा १८ हजार दुई सय ८६ किसानले ४१ लाख ७९ हजार तीन सय २४ दशमलव ९९ क्विन्टल उखु बिक्री गरेका थिए । त्यसमध्ये राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदासमेत नपाएको बागमती नगरपालिका-४ का किसान केदारनाथ प्रसाईँले गुनासो गरे ।

अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक पुरुषोत्तम बरालले बताए । उनका अनुसार कार्यालयलाई रकम प्राप्त भएपछि करिब दुई साता आन्तरिक तयारी गरेपछि किसानको खातामै रकम पठाउन सकिने छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु