नाउपा संकटोन्मुख, एक थान मन्त्रीका लागि श्रीमान्–श्रीमतीकै मारमुंग्री

शिलापत्र ।सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीका लागि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलाश चौधरीलाई सिफारिस गरिन् । प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरी र मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेखिन् । र, पार्टीको भागमा परेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कैलाशलाई पठाउने उनको निर्णयलगत्तै पार्टीभित्र विरोध भयो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा अध्यक्ष रञ्जिताका श्रीमान् रेशम चौधरीको समूहले कैलाशको विकल्पमा घनश्याम चौधरीलाई अगाडि सार्‍यो, जसले गर्दा साता दिनदेखिको कलहले मन्त्री नियुक्ति हुन सकेको छैन । नागरिक उन्मुक्ति पार्टीमा यो विवाद न नयाँ हो, न अन्तिम । श्रीमान् रेशम चौधरी र श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको कलहको एउटा परिघटना मात्रै हो ।

Advertisement

sikta

 

पश्चिम तराईबाट देशको राजनीतिमा उदाएको दल हो– नाउपा । पुराना दलहरूको गढ भत्काउँदै राजनीतिमा उदय भएको यो दलमा दुई जना कमान्डर छन् । खुला मोर्चामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र आन्तरिक मोर्चामा संरक्षक रेशमलाल चौधरी । उनीहरू श्रीमान्/श्रीमती हुन् । उनीहरूबीचको आन्तरिक बेमेल पार्टीहुँदै सत्तासम्म आइपुगेको छ ।

बेमेलको एउटा उदाहरण : नाउपा सत्तामा रहेको दल हो । यसले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री पठाउने विषयमा रञ्जिता र रेशमबीच लफडा छ । रञ्जिताले प्रदेश सांसद कैलाश चौधरीलाई मन्त्री बनाउन चाहेकी छिन् । उनले पत्र नै पठाएकी छिन् । तर, रेशमले घनश्याम चौधरीलाई मन्त्री बनाउने तयारी गरिरहेका छन् ।

घनश्याम नाउपाको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता हुन् । तर, रञ्जिताले आफूनिकट कैलाशलाई मन्त्री बनाउन चाहँदा रेशम पक्षले अस्वीकार गरेको छ । जबकि, त्यहाँ नाउपाको भागमा परेको मन्त्रालय रिक्त भएको एक महिना नाघिसक्यो । नाउपाबाट मन्त्री भएका लक्ष्मणकिशोर चौधरी लेनदेनमा मुछिएपछि उनले राजीनामा दिएका थिए ।

तर, नाउपामा रेशम–रञ्जिताको आन्तरिक बेमेलले मन्त्रीका रूपमा नाम सिफारिस भएको थिएन, जसले गर्दा प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । तर, रञ्जिताले कैलाशको नाम मन्त्रीका रूपमा अघि सार्दा रेशमले रोकेका छन् । यसरी थारूवान् आन्दोलन र ७ भदौ २०७२ मा भएको टीकापुर घटना र त्यसपछि भएका परिघटनाको जगमा स्थापित नाउपा रेशम–रञ्जिताको घरझगडाको सिकार भएको छ ।

भनिन्छ, नाउपा र जनमत पार्टीबीचको एकतामा पनि रेशम–रञ्जिता झगडा कारक छ । रञ्जिता जनमतसँगको एकतामा अध्यक्ष सीके राउतकै हैसियतमा रहन चाहन्छिन् । नभए पार्टी एकता गर्न उनको चाहना नरहेको चर्चा हुँदै आएको छ ।

यसअघि २७ पुस २०८० मा टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट अध्यक्षमा रेशम निर्विरोध निर्वाचित भएका थिए । त्यसबेला श्रीमती रञ्जिता असन्तुष्ट हुँदै बन्दसत्र छोडेर हिँडेकी थिइन् । तर, निर्वाचन आयोगले रेशमलाई दुई महिना नबित्दै २४ फागुनमा रेशम अध्यक्ष त के, सदस्य पनि हुन अयोग्य भएको निर्णय गरेको थियो ।

आयोगको यो निर्णयसँगै नाउपाको अध्यक्षमा रञ्जिता फर्किन् । तर, त्यसयता श्रीमान्/श्रीमतीको शक्ति संघर्ष पार्टी र सत्तामा देखिएको छ । मूलतः थारूहरूले पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपाजस्ता दलहरूविरुद्ध विद्रोह गर्दा स्थापित भएको दल नाउपालाई संकटतर्फ धकेलेको देखिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु