काठमाडौं । बाराको सिमरा विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको जहाजमा सवार रौतहटको फतुवा विजयपुर नगरपालिका ११ का ३९ वर्षीय राजुकुमारी चौधरीको मृत्यु भएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि जहाजमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा मृत्यु भएको हो ।
Advertisement
मंगलबार अपराह्न ४ बजे बुद्ध एयरको जहाजमार्फत काठमाडौंका लागि उडेको सँगै उनका श्रीमान् जङ्गबहादुर चौधरीले बताए । तर केही समयमै राजुकुमारी जहाजमै अचेत भएकी थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि राजुकुमारीलाई तत्काल केएमसी अस्पताल सिनामंगल पुर्याइएको थियो।
चिकित्सकहरूले राजुकुमारीको निधन भइसकेको घोषणा गरेका थिए। शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।









