काठमाडौँ — भिजिट भिसामा जानेबाट सेटिङमा रकम उठाएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । उनलाई टंगालस्थित कार्यालयमा लगिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । उनलाई सरुवा गरेर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो । स्रोतका अनुसार अख्तियारले केही साताअघिबाटै यस विषयमा अनुसन्धान गरिरहेकोमा विमानस्थल अध्यागमनमा छापा हान्ने सुइँको पाएपछि गृहले हतारमा भट्टराईलाई सरुवा गरेको थियो ।
Advertisement
भट्टराईमाथि नेपालबाट भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अनुसन्धानमा तानिएका थिए । त्यसपछि बुधबार उनलाई अख्तियारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
भट्टराई अहिले सोधपुछका लागि अख्तियारको नियन्त्रणमा छन् । विमानस्थल अध्यागमन स्रोतका अनुसार अख्तियारले विमानस्थलबाट कम्प्युटरलगायतका कागजातसमेत नियन्त्रणमा लिएको छ ।
ईकान्तिपुरका अनुसार दैनिक ४ सय जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको उजुरी समेत अख्तियारमा परेको स्रोतले बतायो ।









