बाँके — बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लक मध्ये एउटा ब्लकमा बालबन्दी राख्न सुरु गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको केन्द्रीय बाल न्याय समितिले सुधार गृह सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा रुपन्देहीको भैरहवाबाट १३ हेटौडाबाट १८ ,पर्साबाट १५ जना गरी बालसुधार गृहबाट १८ वर्षमाथिका अहिले ४६ जना बालबन्दीलाई ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Advertisement
त्यस्तै। बाँकेको डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहभित्र रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्तालाई नौबस्तामा राख्न कारागार विभागबाट अनुमति मागिएको छ । ‘बालसुधार गृहमा रहेका १८ वर्षमाथिका ७२ जनालाई क्षेत्रीय कारागारमा बनाइएको बाल सुधार गृहमा सार्ने तयारी गरिएको छ ।
बाँकेको डुडुवामा रहेको बाल सुधार गृहमा असोज ४ गते राति बालबन्दीका बीचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । चार जना भागेकोमा तीन जना अझै सम्पर्कमा आएका छैनन् । त्यहाँ १८ वर्षमाथिका १ सय ६५ जना छन् ।
देशभरकै कारागारमा कैदी बन्दीको संख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको थियो । नौ बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ ।









