लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै आज मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानहरुमा ४० डिग्री सेल्सियस र धेरै स्थानहरूमा ३९ डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
चेतावनी तथा परामर्शः
Advertisement
देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार भोली पनि मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी रही अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरूमा भोलि सम्म तातो लहर (Heat wave) को सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
चित्रः चेतावनी नक्शा
सम्भावित असर तथा सुझावहरूः
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउनु हुन अनुरोध छ ।
उपायहरूः
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , चर्को घाममा बाहिर ननिस्किने , हल्का लुगा (सुतीको कपडा ) लगाउने,, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध छ ।
यस महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ।









