पाउँनै छाडे बटैयामा खेति गर्ने किसान

 

बर्दिया । धेरै भएको छैन, अधियामा जग्ग्गा जोत्न पाउनैका लागि छोरीलाई कम्लरी पठाउने चलन थियो । किसानबीच बटैयामा (अधिया) खेत जोत्न तछाडमछाड हुन्थ्यो । जग्गाधनिलाई खुसी पार्न उनीहरुले घरमै पालेको मुर्गा (लोकल कुखुरा) खुवाउँथे । जग्गाधनिको सक्ने जति राम्रै गरी सेवा गर्थे । चाडपर्वमा निम्तो गर्थे । माछामासुसंगै खानपीनले सत्कार गर्थे । जग्गाधनिको भागको धानचामल घरमै पु¥याएर खुसी पार्थे । तर समय फेरिएको छ । किसानले बटैयामा धान लगाउन छाडेका छन् ।

Advertisement

रोपाईका बेला पनि कतिपय गाउँका खेत बाँझै छन् । कतिपय जग्गा जग्गाधनिले उर्बर जग्गामा रुखबिरुवा लगाएका छन् । रुखविरुवा लगाउनुको कारण हो १०÷२० वर्षका लागि खेतिपाती गर्ने झन्झटबाट मुक्त हुनु हो । ‘चार÷पाँच वर्ष पहिले जग्ग्गा जोत्न माग्न किसान घरमै आउँथे । किसान छानीछानी जग्गा दिन पाईन्थ्यो । अहिले त्यो अवस्था रहेन,’ बर्दिया बढैयाताल गाउँपालिका जग्गाधनि महेश्वर चौधरी भन्छन्,‘मेरो खेत जोतिदेउ भनेर अनुरोध गर्नु पर्छ । तर पनि अधियामा खेति गर्ने मान्छे पाईदैन ।’

उनले १५ कठ्ठा जग्गामा मसला, सागोन लगायतका बिरुवा रोपेका छन् । ‘कति टाउको दुखाउनु ? त्यसैले खेति गर्ने जग्गामा रुख रोपेको छु,’ उनले भने ।

अखिर किन किसानले अधियामा खेत लगाउन चाहदैनन् ? कृषि अधिकारी भन्छन्,‘कृषिमा किसानलाई श्रम र पसिना बढी बगाउनु पर्छ । श्रम अनुसारको पारिश्रमिक पाउन सकिरहेका छैनन् । जसका कारण नयाँ पुस्ता कृषिमा लाग्न चाहदैनन ।’ खेतियोग्य जग्गामा रुखबिरुवा रोप्न थालिएपछि कारण खेतियोग्य जग्गा खुम्चिदै गएको छ ।

 

युवापुस्तामा खेतिप्रतिको आर्कषण निकै घटेको छ । खेत जोत्नका लागि गोरुभैसी गाउँमा देखिदैन । खेति गर्नेले पनि ट्याक्टरले जोत्छन् । अधिकांशले आफूले पुग्नेमात्रै खेति गर्न थालेका हुन । बाँझै रहने खेतमा बिरुवा लगाउन थालिएको छ । बर्दियामा एक दशकअघि ७५ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुने कृषिको त्थयांक छ । तर पछिल्लो तथ्यांकले करिव ४६ हजार हेक्टर जग्गामा धान खेति देखाएको छ । त्यस्तै खाद्यन्न फल्ने खेतमा ईटा उद्योग खोलिएका छन् । यसले पनि खेतियोग्य जग्गामा कमी आएको छ । बबैं लगायत नदीको कटानले पनि बर्दियाको उर्बर भूमिमा कमी आएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु