बर्दिया — बालापुर र गुलरियाका दुई बालिकाको ज्यान लिने चितुवालाई एक सातापछि नियन्त्रणमा लिइएको छ । उत्तक्षेत्रमा राखिएको केजमा राखिएको बाख्रा खान खोज्दा चितुवा नियन्त्रणमा आएको हो ।
Advertisement
पछिल्लो पल्ट गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया सायरा थारुलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका कर्मचारी र स्थानीयले दिनरात चितुवाको खोजी गरेका थिए ।
नियन्त्रणमा लिएको चितुवा डिभिजन वन कार्यालयमा राखिएको छ ।
गत वैशाख १५ गते गुलरिया–८ स्थित सयु सामुदायिक वनमा ९ वर्षीया मेलिना खड्काको पनि चितुवाको आक्रमणमा मृत्यु भएको थियो । गत मंसिरयता चितुवाको आक्रमणमा बर्दियामा चार जनाको ज्यान गई सकेको छ । यसै अवधिमा चितुवाको आक्रमणमा १६ जना घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ ।









