स्मृति हरिजन चमार बनिन् आफ्नो समुदायको पहिलो डाक्टर

 

कपिलवस्तु/ईकान्तिपुर—स्मृति हरिजन सानैदेखि लगनशील थिइन्, अनुशासित पनि । पढाइमा पनि उस्तै समर्पित । उनी कक्षामा सधैं पहिलो हुन्थिन् । राम्रो पढाइ भएका कारण डाक्टर बन्ने सपना देख्न थालिन् । तर परिवारको दयनीय आर्थिक अवस्थाका कारण डाक्टर बन्ने सपना पूरा हुँदैन कि भन्ने चिन्तामा हुन्थिन् । छोरीको सपना पूरा गर्न बुवा सन्तराम हरिजनले आफ्नातर्फबाट कुनै कसर बाँकी राखेनन् । अन्ततः स्मृति डाक्टर बनेकी छन् ।

Advertisement

sikta

नेपालमा चमार समुदायबाट सम्भवतः पहिलो महिला डाक्टर हुन्– स्मृति । चिकित्सा शिक्षामा स्नातक (एमबीबीएस) गरेकी उनले १२–१५ जेठमा सञ्चालित मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गरिन् । ‘एउटा ज्यामी बुवाका लागि योभन्दा ठूलो खुसी के हुन सक्छ र !’ स्मृतिका ६० वर्षीय बुवा सन्तराम भन्छन् ।

स्मृति कृष्णनगर नगरपालिका–९ बहादुरगन्जमा ५ कात्तिक २०५६ मा जन्मिएकी हुन् । उनका बुवा सन्तरामले एसएलसीपछि पढाइ अघि बढाउन सकेनन् । परिवारलाई दुई छाक जोहो गर्न पनि मुस्किल भएका कारण पढाइ छाड्नु उनको बाध्यता थियो । तर सन्तरामले अठोट गरे, ‘मैले पढ्न नपाए पनि आफ्ना सन्तानलाई राम्ररी पढाउँछु ।’

सन्तरामले आफू पढेकै बहादुरगन्जको श्रीराम गोरखा माविमा चारै छोराछोरीलाई भर्ना गरिदिएका थिए । जेठी रञ्जनाले कक्षा १० सम्म मात्रै पढिन् । माइली सिर्जना बेलायतमा एमबीए अध्ययन गरिरहेकी छन् । छोरा सन्दीप भारतको ओडिसास्थित प्रतिष्ठित प्राविधिक संस्थान एनआईटीमा ‘कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ’ पढिरहेका छन् । स्मृतिले भने ०७२ सालमा गाउँकै विद्यालयबाट ३.०५ जीपीएसहित एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि काठमाडौंको पेन्टागनबाट जीवविज्ञानमा ‘प्लस टु’ सकिन् ।

कक्षा १२ पछि धेरै साथी एमबीबीएस र इन्जिनियरिङ अध्ययनको तयारीमा जुट्दा स्मृति अन्योलमा थिइन् । पैसा तिरेर एमबीबीएस पढ्न सक्ने अवस्था थिएन । सन्तरामले चमार, डोम, मुसहर र बादी समुदायका विद्यार्थीका लागि एमबीबीएस र इन्जिनियरिङ अध्ययनमा२०७६ मा प्रवेश परीक्षामा उत्तीर्ण भएपछि छात्रवृत्तिको प्रक्रिया अघि बढ्यो । चमार समुदायबाट एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक्ली छात्रा भएका कारण स्मृतिले सहजै छात्रवृत्ति पाइन् । त्यसपछि उनले जानकी मेडिकल कलेज, जनकपुरमा एमबीबीएस पढिन् । छात्रवृत्ति पाए पनि छात्रावास,

पाठ्यपुस्तकलगायतका अध्ययन सामग्री, परीक्षा शुल्कमा आफ्नो खर्च हुन्थ्यो । छात्रावास शुल्क मात्रै वार्षिक एक लाख रुपैयाँ बुझाउनुपर्थ्यो । गाउँमा ६ कट्ठा जमिन मात्र थियो । त्यही जग्गा धितो राखेर सन्तरामले ऋण लिए । ज्यालामजदुरी गरेर, गहना बेचेर, थप ऋण काढेर खर्च जुटाउँदै गए । ‘इष्टमित्रबाट ऋण लिएको छु,’ सन्तराम भन्छन्, ‘छोराछोरी पढाउँदा लिएको ऋण २० लाख रुपैयाँ छ ।’

स्मृति आफू डाक्टर बन्नुको श्रेय बुवालाई दिन्छिन् । ‘हाम्रो समुदायमा कक्षा ८ उत्तीर्ण गर्नु पनि असाध्यै कठिन छ,’ स्मृतिले भनिन्, ‘माथिल्लो कक्षामा पढ्न लागेपछि रोक्ने प्रयास हुन्छ । तर बुवाले समाजको कुरा वास्ता नगरी हामीलाई पढाउनुभयो । हाम्रो भविष्य र खुसीका लागि बुवाले ठूलो संघर्ष गर्नुभयो । आज चमार समुदायबाट पहिलो महिला डाक्टरका रूपमा चिनिन पाउँदा उत्साहित छु, भावुक पनि बनेकी छु ।’

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु