‘पर्यटक डुलाएर महिनामा ३० हजार कमाउँछु’

गोविन्द थारु

बर्दिया — हाम्रो बस्तीसित जोडिएको बर्दिया निकुञ्ज प्राकृतिक सौन्दर्य, जैविक विविधता र दुर्लभ वन्यजन्तुका कारण विश्वमा चिनिएको छ । निकुञ्जमा रहेका पाटे बाघ, एक सिंङ्गे गैंडा, चितुवा, जरायो, चित्तल बाह्रसिङ्गे, जंगली हात्ती यहीँ खेतबारीमा चर्न आउँछन् । घर नजिकै कर्णालीको भँगालोमा घडियाल, मगर गोही देखिन्छन् । ती वन्यजन्तु र यहाँको प्राकृतिक अवलोकन गर्न धेरै विदेशी र स्वदेशी पर्यटक आउँछन् ।

Advertisement

 

त्यही आकर्षण देखेर मैले नेचर गाइडसँगै होमस्टे व्यवसाय संचालन गरेको हुँ । मधुवन नगरपालिका–१ डल्ला गाउँमा बसोबास छ । मेरो गाउँ होमस्टेका लागि देश/विदेशमा चर्चित छ । अहिले ३० वर्षको भएँ ।

सन् २०१२ मा एक जना विदेशी पाहुना हात्तीमा पीएचडी गर्ने क्रममा अध्ययनका लागि आउनु भएको थियो । त्यही बेला उहाँको सहयोगी भएर काम गर्ने अवसर जुट्यो । उहाँलाई डुलाउँदै थिएँ, राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत दाइले मलाई जीपीएस चलाउन सिकाए ।

सोही अनुभवले सन् २०१३ मा बाघ गणनासम्बन्धी बाँकेमा तालिम लिने अवसर मिल्यो । त्यसपछि क्यामरा ट्रयाप गर्ने कामको सिलसिलामा बाँके, कैलाली, सुर्खेत, सल्यान, चितवनलगायत विभिन्न जिल्लामा गएर काम गर्ने मौका पाएँ ।

वन्यजन्तुको अध्ययनका लागि आउने पाहुनाको सहयोगीका रूपमा काम गर्दा गर्दै उहाँहरूलाई खाजा खुवाउने उद्देश्यले ५ वर्षअघि होमस्टे थारु खाजा घर संचालन गरेको थिएँ । त्यतिबेला खाजा घर संचालन गर्न बर्दिया राष्ट्रिय निकुञ्जले ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।

एक वर्षपछि डल्लामा २४ नम्बर होमस्टे सुरु गरेँ, जुन कार्यका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले ५० हजार दिएको थियो । होमस्टे सुरु गरेको पनि चार वर्ष भयो । आठ जनाको परिवार छ । परिवारका अन्य सदस्यले सघाउँदा होमस्टे चलाउन सहज भएको छ । अलि अलि आफ्नै खेत छ ।

आफ्नै खेतबारीको उत्पादनले वर्षभरि खाद्यान्न पुग्छ । होमस्टेमा आउने आन्तरिक तथा बाह्य पाहुनालाई आफ्नै खेतमा उब्जनी भएको अर्गानिक उत्पादनबाट तयार हुने स्थानीय थारु खानाका सम्पूर्ण परिकार पस्केर खुसी पार्छु ।

 

अनदी चामलको भात, रोटी, डिक्रीलगायतका परिकार पस्किँदा पाहुना लोभिदै अर्को पटक पुनः मेरो होमस्टेमा आइपुग्छन् । आफैं नेचर गाइड भएकाले जंगल वाक गराएर जंगलको राजा बाघ, गैंडा, हात्तीलगायत जंगली जनावर देखाउँदा पाहुनाहरू खुसी भएर फर्किन्छन् ।

वन्यजन्तुको संरक्षणमा टेवा पुर्‍याउँदा आफ्नै गाउँघरमा रोजगारी सिर्जना भएको छ । अनेकौं देशका पाहुनालाई आफ्नै आँगनमा स्वागत गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ । पाहुनाहरूको आवागमनले नेचर गाइड र होमस्टे व्यवसाय पनि सन्तोषजनक छ ।

गाउँका घरपिच्छे होमस्टे छन् । जसले गर्दा सबै जना स्वरोजगार बनेका छन् । यसले काम खोज्दै भौतारिनु परेको छैन । अहिले होमस्टेमा एसीसहितको सुविधा सम्पन्न कोठाको व्यवस्था गरेको छु । यसले पाहुनाहरूलाई गर्मीमा सहजता मिलेको छ ।

होमस्टे व्यवसायबाट महिनामा २० हजार र नेचर गाइडबाट १० हजार गरी ३० हजार आम्दानी गर्छु । पाहुनाको चाप बढ्यो भने बढी पनि कमाइ हुन्छ । नुन, तेल, दाल, मसला, लत्ता कपडामा खर्च हुन्छ । नेचर गाइडको लाइसेन्स नवीकरण गर्न निकुञ्जमा वार्षिक २ हजार बुझाउनुपर्छ । त्यसैगरी बिमाका लागि वार्षिक २ हजार खर्च हुन्छ ।

आफ्नै गाउँघरमा बसेर थोरै कमाएर पनि सन्तुष्टि मिलेको छ । घरमै बसेर गरेको व्यवसायबाट अरु केही गर्न नसके पनि साढे ३ कट्ठा जग्गा जोड्न सफल भएको छु । कर्ममा विश्वास गरी आफ्नै ठाउँमा बसेर यतिको गर्नु पनि मेरा लागि ठूलो सफलता हो ।

प्रस्तुति : रामप्रसाद चौहान/ईकान्तिपुर

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु