बाँकेको डुडुवास्थित बालसुधार गृहमा अधिकांश बालकमा छाला रोगको संक्रमण

नेपालगन्ज/ईकान्तिपुर — एडभोकेसी फोरम नेपालद्वारा बाँकेको डुडुवास्थित आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृहमा १ दिने नि:शुल्क स्वास्थ्य चेकजाँच तथा उपचार शिविर आयोजना गरिएको छ ।

 

Advertisement

बालन्यायको क्षेत्रमा कार्यरत एडभोकेसी फोरमले बाँके जिल्ला अदालत, जयेन्दु बालसुधार गृह र भेरी अस्पताल नेपालगन्ज, लायन्स क्लब अफ नेपालगन्ज जीवनसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

सुधार गृहमा रहेका जम्मा २१७ जना बालकमध्ये १२० ले स्वास्थ्य जाँच र औषधोपचार सेवा पाएका छन् । यसबाहेक अन्यलाई स्वास्थ्य परामर्श र ३ जनालाई थप उपचारका लागि भेरी अस्पताल रेफर गरिएको छ ।

स्वास्थ्य शिविरमा भेरी अस्पतालमा कार्यरत वरिष्ठ छाला रोग विशेषज्ञ डा. अस्मिता गौतम, डा.जनक देवकोटा र अस्पताल नर्सिङ निरीक्षक बसुन्धरा ज्ञवालीले स्वास्थ्य सेवा दिइन् ।

स्वास्थ्य चेकजाँचका क्रममा जयेन्दु बाल सुधार गृहमा रहेका कानुनी विवादमा परेका अधिकांश बालकहरुमा छाला रोगको संक्रमण पाइएको स्वास्थ्य शिविर संयोजन गरेका एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले जानकारी दिए ।

स्वास्थ्य चेकजाँचका क्रममा अधिकांश बालकहरुमा लुतो, फङ्गल इन्फेक्सन, डण्डिफोर, घमौरा, स्कोरटल एक्जीमा, पिलो, दुवीको समस्या देखिएका उपचारमा संलग्न छाला रोग विशेषज्ञ डा. अस्मिता गौतमले जानकारी दिइन् ।

 

स्वास्थ्य शिविरबाट १२० जनाले प्रत्यक्ष औषधिसहितको स्वास्थ्य सेवा लिएका छन् । यसबाहेक अन्य कतिपय बालकले, प्रजनन स्वास्थ्य, सरसफाइको परामर्श लिएका छन् ।

छाला रोगबाहेक अन्य ३ जनालाई स्वास्थ्य परामर्श दिइ थप उपचारका लागि भेरी अस्पतालमा रेफर गरिएको डाक्टर जनक देवकोटाले जानकारी दिए ।

बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले सुधार गृहमा रहेका बालकहरुको संरक्षण गर्नु राज्यको जिम्मेवारी भएको बताएका छन् । स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै न्यायाधीश प्रसाईले अपराधमा कसुरको गाम्भिर्यता हेरेर सजाय निर्धारण गरिने बताए ।

स्वास्थ्य शिविरमा आफ्ना गुनासा राख्ने क्रममा एक बालकहरुले गल्तीको अनुपातमा बढी सजाय दिइने गरेको, बालबालिकाले पाउने छुटमा कन्जुस्याई हुने गरेको गुनासो गरेका थिए । उक्त गुनासोलाई सम्बोधन गर्दै न्यायाधीश प्रसाईले न्यायालय पनि कानुनको परिधिमा बाधिनुपर्ने बाध्यता सुनाएका थिए ।

सुधार गृहमा २१७ जना बालकहरु रहेकोमा १४ देखि १५ वर्षसम्मका ३६ जना, १६ देखि १८ वर्षसम्मका १३७, १८ वर्ष पूरा भएका ४७ जना रहेका छन् । बालसुधार गृहमा रहेका २१७ बालकहरुको मुद्दागत हिसावले हेर्दा जबरजस्ती करणीका १०० जना, जबरजस्ती करणी उद्योग ३ जना, चोरीका १ जना, लागुऔषधका १३, कर्तव्य ज्यानका २३, ज्यान मार्ने उद्योग ५, सवारी ज्यान ३, नकबजनी चोरी ११, मानव बेचबिखन तथा जजक १, अप्राकृतिक मैथुन २, हाडनाता जबरजस्ती करणी १२, डाँका चोरी ७, जजक र डाँका चोरी १ रहेका छन् ।

यस्तै हाडनाता जबरजस्ती करणी उद्योग १, कारागार ऐन सम्बन्धी कसुर १, जबरजस्ती करणी र ज्यान मार्ने उद्योग १, सवारी अङभङ्ग १, सामूहिक जजक १७, अपहरण शरिर बन्धक तथा जजक ३, जक र कर्तव्य ज्यान १, अङभङ्ग सम्बन्धी कसुर १, बालयौन शिषण ०, कर्तब्य ज्यान र डाँका चोरी ३, ज्यान मार्ने उद्योग र डाँका चोरी २, जक,जक उद्योग, बिद्युतीय कारावोर सम्बन्धी कसुर, अपराधिक उपद्रव सम्बन्धी कसुर १, अपहरण शरिर बन्धक, क्रुर यातना सम्बन्धी कसुर १, अपहरण शरिर बन्धक कर्तव्य ज्यान मुद्दाका १ जना रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु