द्वन्द्वकालको पिडा: बेपत्ता सन्तानको पर्खाइमा बाँकेका शाही दम्पती

 

नेपालगन्ज/ईकान्तिपुर— बाँकेको राप्तीसोनारी गाउँपालिका ९ गुच्छापुरका ६३ वर्षीय डम्मरबहादुर शाही दम्पत्तीले तीन सन्तानमध्ये दुई छोरा द्वन्द्वकालमा गुमाए । दुई छोरा मारिएपछि उनीहरु अहिले एक्लै छन् । उनीहरुको रेखदेख गर्ने औषधिउपचार गर्ने कोही छैन ।

Advertisement

 

२०६० साल असोज १८ गते कान्छा छोरा शेरजन शाही १६ वर्षको उमेरमा मारिए । कक्षा १० मा पढ्दै गरेको छोरो विद्यालयमा पढेर फर्किएका बेला बाटोमै लगेर राज्य पक्षबाट मारिए । त्यही वर्ष पुस २ गते जेठो छोरो २२ वर्षिय दिर्घराज शाही मारिए । उनीहरु अहिलेसम्म मानसिक पीडामा छन् । अझैपनि उनीहरुलाई छोरो फर्केर आउने आशा छ ।

डम्मर शाही आफैं यातना पीडित हुन् । मुटुको अप्रेसन गरेका उनी सुगर थाइराइडका बिमारी छन् । दुवैले नियमित औषधि खानुपर्छ । तर कमाएर उनीहरुका लागि औषधि उपचार गर्ने कोही छैन ।

बुढेसकालका सहारा दुवै छोरा काखमा छैनन् छोराहरुको सम्झना केही गर्न सकिएन । पिता डम्मर शाहीले भने ,‘कोले मार्‍यो किन मार्‍यो उनीहरुलाई कुनै कारबाही हुँदैन,’ उनले भने ,‘ उनीहरुको सम्झनामा आँशु झार्ने बाहेक अरु केही गर्न सकेनौं । ’

 

दुबै छोरा गुमेपछि काख रित्तो भएको डम्मर कुमारीका आखाँभरी छोराहरुको तस्बिर आइरहन्छ । ‘कहाँ भेटुँ । कहाँ खोजुँ हुन्छ,’ आमा डम्मरकुमारी शाहीले भनिन् , ‘आफनो अगाडि आफनो सन्तानको मृत्यु सहन कसलाई सजिलो होला र !’

तीन सन्तानका बाबुआमा उनीहरुको एक्ली छोरी सीता शाहीले बेलामौकामा बुवाआमाको रेखदेख गर्छिन् । ‘पकाएर खान दिने चिसोतातो सोध्ने मान्छे घरमा छैनन् । आफ्ना बच्चाहरुको पढाइका लागि कोहलपुर बस्दै गरेकी छोरी सीता शाहीले भनिन् ,‘ बुवा आमा रोगले भन्दा पनि शोकले पिरोलिएर थप रोगी हुनुभयो ।’ सीता २०६० साल देखि आमाबुवासँग बस्दै आएकी छन् । राप्तीसोनारी गाउँपालिका–६ का ६५ वर्षीय मनबीर घर्ती बेपत्ता छोरीको चिन्ताले जहिले पनि पिरोल्छ । उनको छोरी बेपत्ता भएको २५ वर्ष भयो ।

मनबीरकी १८ वर्षीया माइली छोरी जुनकुमारी घर्ती २०५५ माघ २५ गते राज्य पक्षबाट बेपत्ता पारिएकी थिइन्। तीन छोरीमा जुन कुमारी माइली थिइन् ।

क्याम्पस हिंडेकी छोरीलाई धनौली प्रहरी कार्यालय लगेर बेपत्ता बनाइएको थियो । ‘सन्तानको अभावले बाँचुन्जेल सम्म पिरल्दो रैछ । २५ वर्ष भयो सास र लास केही पाइएन,’ उनले भने, ‘ भोक भन्दा शोकले हामीलाई थिचिरहन्छ सन्तानको पर्खाइले थप पीडा दिँदो रहेछ।’

मनबीर घर्तीका तीन छोरी एक छोरा हुन् । छोरालाई समेत द्वन्द्वकालमा हातहतियार खजानाको मुद्दा लागेपछि उनी सरकारी जागिर खानबाट समेत बञ्चित भएका छन् ।

मनबहादुरको जस्तै राप्तीसोनारी–९ वुचुवापुरका ६० वर्षिय वीरबहादुर वलीको पीडा पनि उस्तै छ । १६ वर्षीया छोरी पवित्रा वली जुनकुमारी घर्तीसँगै बेपत्ता भइन् । ‘आफैँ पनि जेलनेल भोगें, बेपत्ता छोरीलाई खोज्न सकिन,’ उनले भने ,‘बाँचे पनि मरेसरह भएका छौं । सन्तानबिना सबै पर्व खल्लो लाग्छ । ’

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ टेपरीकी ६५ वर्षीया राजारानी गोडिया अहिले पनि बेपत्ता छोरो सम्झेर टोलाइरहन्छिन् । उनी बेपत्ता पारिएका आफना छोरा ब्रम्हदिन गोडियाको खोजीमा हप्तै पिच्छे अधिकारकर्मीलाई फोन गर्छिन् । हारगुहार गर्छिन् । २५ वर्ष देखिको उनको पर्खाइ अझै सकिएको छैन ।

६५ वर्षीया राजारानी गोडियाका ५ छोरा र ३ छोरी थिए । २५ वर्षको उमेरमा माइला छोरा मारिए । १४ वर्षीय साइला छोरा बेपत्ता भए । २०५५ सालमा बेपत्ता भएका छोरा अहिलेसम्म नभेटिँदा उनलाई रोगले च्यापिरहेको छ । कहिलेकाहिँ रुँदारुँदै ढल्छिन् ।

‘यो सास किन अडकिएको होला । मर्ने बेला आइसक्यो । मर्नुभन्दा अघि हराएको छोरालाई भेटेर मर्ने धोको छ,’ उनले भनिन् ।

ब्रम्हदिनलाई दिदीको घरमा गएका बेला सुरक्षाकर्मीले बेपत्ता पारेका थिए । उनी खोजीका लागि राज्यका निकायमा धाउँछिन् । तर बिडम्बना यतिका वर्षसम्म पनि राज्यका निकायले उनका पीडा बुझ्नसकेको छैन । कमजोर स्वास्थको कारण उनी शारीरिक रुपमा शिथिल अवस्थामा पुगेकी छन् । गाउँमा नयाँ मान्छे पुग्ने बित्तिकै हारगुहार गर्दै गोडिया दुवै हात जोडेर रुँदै भन्छिन्, ‘छोराको अवस्था थाहा पाए सजिलै सास जान्थ्यो’ ।

बुवाको श्राद्ध गर्दै गर्दा २०६० साल भदौ २५ गते माओवादीले घरैबाट जबर्जस्ती अपहरण गरेका बाँके कोहलपुरका भोजराज ढकाल अझै बेपत्ता छन् छोराको खोजी गर्दै २० वर्षसम्म विभिन्न ठाउँ धाए पनि भोजराजकी आमा बिष्णुमायाले छोराको कुनै अत्तोपत्तो पाउन सकेकी छैनन् ।

सरकारले गत वर्ष २०७९ असार ३१ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई संसद् सचिवालयमा दर्ता गराएको छ । तर यो विधेयक अझै अघि बढेको छैन । विधेयकमा अझै पनि दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न नसक्ने प्रावधान रहेका छन् ।

त्यसैले पीडित अधिकारकर्मी र अन्तर्राष्ट्रिय मानव अधिकार समुदायले ऐनमा आवश्यक संशोधन गर्नुपर्ने आवाज उठिरहेको छ । तर संसदमा दर्ता भएको विधेयकमा सहमति कायम हुन नसक्दा लामो समयसम्म यो विधेयक संसद्‍मा अड्केर बसेको छ ।

कानुन संशोधन नहुँदा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुन सकेका छैनन् । संक्रमणकालीन न्यायसम्बन्धि कानुनमा आवश्यक संशोधन नहुँदा र सत्य निरुपण तथा र बेपत्ता आयोग नबन्दा पीडितहरुले कहिले न्यायको प्रत्याभूति गर्ने हुने अत्तोपत्तो छैन ।

विधेयकका केही बुँदाहरु सकारात्मक भए पनि मूल रुपमा पीडकलाई विभिन्न बहानामा उन्मुक्ति दिने गरी संशोधन विधेयक आएको भन्दै पीडित समुदायले विरोध गरिरहेका छन् ।

पीडितको सत्य, न्याय र परिपुरण प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नुका साथै बेपत्ता पारिएका आफन्तको तत्काल सार्वजनिक गर्न पीडित परिवारले माग गरेका छन् ।

राप्तीसोनारी द्वन्द्वपीडित सञ्जालका अध्यक्ष देवबहादुर डिसीले अहिलेको आवश्यकता पीडितहरुले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका पीडित लक्षित योजना ल्याउनुपर्ने बताए ।

‘बेपत्ता पारिएकाहरु सार्वजनिक नहुँदा बाँचेका आफन्तहरु रातदिनको मानसिक पीडा र निराशा छाएको छ उनीहरुलाइ तत्काल राहत अनि मनोपरामर्शको खाँचो छ, ’उनले भने ,‘तत्काल बेपत्ता पारिएकाहरुको नाम सार्वजनिक गरि राज्यले न्यायसहितको परिपुरणको व्यवस्था गर्नुपर्छ ।’

एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले पीडितलाई न्यायको प्रत्याभूति दिलाउनु पर्ने राज्यको दायित्व भएकाले तत्काल बेपत्ता पारिएका व्यक्तिहरुको सार्वजनिक गरि पीडित परिवारलाई सत्य, न्याय र परिपुरणको व्यवस्था गरिनुपर्ने बताए ।

‘न्याय भन्ने कुरा सबैका लागि एउटै हुन्छ भन्ने छैन पीडितको चाहना अनुसार कार्यक्रमहरु तय गर्न सकिन्छ । उनीहरुको स्मृतिमा पार्क मन्दिर चोक बनाइदिएर सम्मान दिन पनि सकिन्छ,’उनले भने , ‘यसो गर्दा पीडितहरुलाई आफनो मान्छेको सम्झना मेटाउने बाहना हुन्छ । ’

बाकेको राप्तीसोनारीमा ५० भन्दा बढी बेपत्ता परिवार छन् । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पालिकाले पीडितहरुका लागि बजेट छुट्याएको जानकारी दिँदै पीडित लक्षित कार्यक्रम ल्याउन आफू प्रतिबद्ध रहेको बताए ।’पीडितहरुको शिक्षा, स्वास्थ लगायतमा आफूले सक्दो सहयोग गर्न अहिले तथ्याकं संकलनको काम गरिरहेका छौं ’अध्यक्ष पौडेलले भने ,‘वास्तविक तथ्यांक आएपछी द्वन्द्वपीडितहरु संगठित बनाइ कार्यक्रम बनाउने योजनामा छौं । ’

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु