बर्दिया/ईकान्तिपुर — भारतीय वन विभागले नेपाल भारत सीमाको दशगजा छेउमै खाडल (नाला) खन्न थालेको छ । दुई साता अघिबाट बर्दियासँग जोडिएको करिब १५ किमी सीमा क्षेत्रमा स्काइभेटर प्रयोग गरी उनीहरुले गहिरो खाडल खनेका छन् ।
Advertisement
गुलरिया नगरपालिका–८ सुरजपुरस्थित दशगजा नजिक खाडल खन्न नहुने भन्दै सशस्त्र प्रहरी बलले रोके पनि जबरजस्ती भारतीय वनकर्मीले खनेका छन् । भारतीय वनकर्मीले आफ्नो भू–भागमा खाडल खन्न किन नपाउने भन्दै विवादसमेत भएको छ ।
सशस्त्र द्वन्द्वका समय नेपाली सुरक्षाकर्मीको अनुपस्थितको फाइदा उठाई वनकर्मीले सीमा छुटाउन एकतर्फी खाडल खन्ने सुरुवात गरेका थिए । खाडल बनाइएको ठाउँमा वर्षायाममा पानी निकास नहुँदा नेपाली भू–भागमा डुवान हुने स्थानीयको गुनासो छ ।
बढैयाताल गाउँपालिका–२ फुटाहाका रणबहादुर खत्रीले नेपाली भू–भागमा खाडल खन्न त परै जाओस् वन्यजन्तुबाट जोगिन तारबार लगाउँदा पनि उखेलेर फाल्ने गरेको बताए । ‘दशगजा नजिक भारतीय भूमिमा खाडल खन्दा विरोध गर्न सकिँदैन,’ उनले भने, ‘खाडल बनाएपछि यताबाट बग्ने पानीको निकास नभई नेपालतर्फ डुवानको जोखिम हुन्छ ।’
नेपालीले भारतबाट काठ तस्करी गरी रुख काटेर नेपालतर्फ लैजाने गरेकोले त्यसलाई रोक्नका लागि खाडल खन्न लागेको भारतीय वन अधिकारीको भनाइ छ । नाम उल्लेख नगर्ने भन्दै भारतीय वनका अधिकारीले आफ्नै सीमामा खाडल खनेको दाबी गरेका छन् । बर्दियासँग भारतको सिमाना ८३ किमी रहेको छ ।
अधिकांश भू–भाग घना जंगल रहेको छ । सिमाना भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष भएकोले वन्यजन्तु नेपालतर्फ प्रवेश रोक्न पनि खाडल खनेको भारतीय वनका अधिकारीले जनाए । नेपाल भारत सिमाना संयुक्त नापी टोलीले नछुट्याएको ठाउँमा खाडल खनेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिपीएस प्रवृधिबाट नापनक्सा हुना साथ सिमाना रेखांकृत हुने भएकोले मिच्न नसक्ने बताए । दुई दशकअघि गुलरिया नगरपालिकास्थित सीमा स्तम्भ नम्बर ६१ को दशगजा मिचेर भारतीयले दशगजामा पक्की सडक निर्माण गरेका छन् । भारतीय सडक विभागले उक्त सडक निर्माण गरेको हो ।
सशस्त्र प्रहरी बल ३१ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले भने, ‘सशस्त्र प्रहरी बल बर्दियामा १७ वर्ष अघि स्थापना भएपछि सिमाना मिच्ने काम रोकिएको छ, त्यसपछि सीमा नाकामा नियमित गस्तीले अवाञ्चित गतिविधि रोकिएको छ ।’









