दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई मासिक पाँच सय भत्ता

 

पाल्पा/ईकान्तिपुर — पाल्पाको रामपुर नगरपालिकाले दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८२/८३ देखि तीन वा तीन भन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक भत्ता दिने भएको हो ।

Advertisement

 

‘नगरपालिकाका गाउँघरमा जन्मदर कम हुँदै गएको भन्ने निष्कर्षमा पुगेपछि यस्तो निर्णय गरेको हो,’ रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले भने, ‘एक वा दुई सन्तान जन्माउने गाउँबस्ती छाड्ने दर बढेकाले पनि आगामी आर्थिक वर्षदेखि नै तेस्रो सन्तान र तेस्रो सन्तान पछिका हरेक सन्तानलाई पाँच वर्षसम्म मासिक भत्ता दिइने छ ।’

रामपुर नगरपालिकाको १७ औं अधिवेशनमा (नगरसभा) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकामा स्थायी बसोबास गर्ने नगरवासीबाट आगामी आर्थिक वर्षबाट तीन वा सो भन्दा बढी सन्तान जन्माउने परिवारका तेस्रो सन्तान वा तेस्रो सन्तान पछिका हरेक सन्तानको नाममा मासिक रूपमा भत्ता दिइने जानकारी दिए ।

मासिक भत्ता दिनका लागि नगरपालिकाले कार्यविधिसमेत बनाइसकेको छ । तेस्रो र त्यसपछिका सन्तानको बाल बचत खाता स्थापना गर्ने र पाँच वर्ष उमेर नपुगुन्जेलसम्म नगरपालिकाबाट नियमित रूपमा जम्मा गरिने व्यवस्था गरिने नगरप्रमुख थापाले बताए ।

‘आवश्यक कार्यविधि तयार गरिसकिएको छ,’ उनले भने, ‘साउन १ गतेपछि नै प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिनेछ ।’ आइतबार सम्पन्न नगरसभामा उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गरेको बजेटमा तीन वा सो भन्दा बढी सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्ने योजनाका लागि ७ लाख बजेट विनियोजन गरेको जानकारी दिइन् ।

‘वर्तमान समयमा जनसंख्या वृद्धिदर कम हुँदै गइरहेकोछ,’ उनले भनिन्, ‘शिक्षित तथा युवाशक्ति पलायन भइरहेको अवस्थामा नगरको दीर्घकालीन श्रमशक्ति, आर्थिक स्थायित्व र सामाजिक सन्तुलनको जोखिम देखिएकाले जनसंख्या वृद्धिलाई व्यवस्थित रूपमा प्रोत्साहन गर्ने व्यवस्था लागु गर्न लागिएको हो ।’

रामपुर नगरपालिकाले यसअघि २०७६ साउनपछि जन्म भएका छोरीहरूलाई नगर भित्रको सामुदायिक विद्यालय तथा क्याम्पसमा स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ । सम्पन्न नगर सभामा उपप्रमुख थापाले ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी छिन् । यो बजेटमा सामाजिक सुरक्षा भत्ता र सडक बोर्डमार्फत् आउने बजेट यसमा समावेश गरिएको छैन ।

 

रामपुर नगरपालिकाले संघीय समानिकरण अनुदान १२ करोड २२ लाख, संघीय राजस्व बाँडफाँडबाट १० करोड ६३ लाख ९८ हजार, संघीय समपूरक पुँजीगत ९१ लख, संघीय विशेष अनुदान ७५ लाखको बजेट सभामा प्रस्तुत गरिएको छ ।

संघीय सशर्त चालुतर्फ ३५ करोड ११ लाख, संघीय सशर्त चालु तर्फ २ करोड ८ लाख, प्रदेश समानिकरण अनुदान ८३ लाख २३ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड २९ लाख ३७ हजार बजेट प्रस्तुत गरिएको छ । प्रदेश समपूरक १ करोड २० लाख, प्रदेश सशर्त चालुतर्फ १५ लाख ८ हजार र पुँजीगततर्फ ३ करोड र आन्तरिक स्रोत अल्या सहित १४ करोड जुटाउने नगरसभामा प्रस्तुत गरेको छ ।

खर्चतर्फ चालु बजेट ६० करोड ५० लाख ५८ हजार र पुँजीगत खर्च २१ करोड ६८ लाख ८ हजार विनियोजन गरेको छ । नगरपालिकाले १० वटै वडालाई समान रूपमा ६०–६० लाख विनियोजन गरेको उपप्रमुख थापाले बताइन् ।

रामपुर नगरभित्रका कृषि, उद्योग, पर्यटन क्षेत्रको विकास, गुणस्तरीय पूर्वाधार निर्माण, सामाजिक विकास, रोजगारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । नगर सभाले नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक छलफल पश्चात् पारित गरेको र नगरसभा सम्पन्न भएको प्रवक्ता कपिलबहादुर खाँडले बताए ।

११ जनालाई पुरस्कार तथा सम्मान

रामपुर नगरपालिकाले पत्रकार, उत्कृष्ट कर्मचारी, उत्कृष्ट करदाता, संघसंस्था, टोल विकास संस्था तथा उदाहरणीय कार्य गर्न सफल व्यक्तिहरुलाई सम्मान गरेको छ । पत्रकारहरु दुर्गेश मल्ल, सीता डोटेल, रमा अर्याल भण्डारीलाई नगदसहित सम्मान गरेको हो ।

रामपुर नगरपालिका १ र २ का सचिव तारानाथ पोखरेल, स्वास्थ्यकर्मी रिता खण्डलुक, सर्मिला भण्डारी, सवारी चालक दान बहादुर राना, उत्कृष्ट करदाता वर्ड लिङ्क रामपुर शाखा प्रमुख मधुसुदन पंगेनी, संगम टोल विकास संस्था रामपुर ४, ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुदिप गौतम, अपांगता भएका विष्णु पंगेनीलाई नगदसहित सम्मान गरेको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले दोसला ओढाई नगद सहित सम्मान पत्र र मायाको चिनोसहित पुरस्कृत गरेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु