कृष्णसार संरक्षित क्षेत्रमा मानवीय अतिक्रमण

 

बर्दिया/ ईकान्तिपुर— ०६१ सालमा सशस्त्र द्वन्द्वको समय गुलरिया नगरपालिका १ का देवराज चौधरीले कृष्णसार संरक्षण क्षेत्रको फाँट अतिक्रमण गरी अस्थायी टहरा बनाए ।

Advertisement

 

उनी आउनासाथ गुलरिया १ की ज्योति चौधरी पुर्ख्यौली घर, जग्गा छाडेर कृष्णसार क्षेत्रमा आइन् । त्यसपछि जिल्लाका विभिन्न ठाउँबाट भूमिहीनका नाममा पुर्ख्यौली घर आफन्तको जिम्मा लगाई संरक्षण क्षेत्रमा अस्थायी टहरा बनाएर बसेका छन् ।

देवराजले थोरै जगगा भएका कारण बाध्य भएर संरक्षण क्षेत्रको ५ कट्ठा जग्गामा बस्दै आएको सुनाए । ‘सरकारले ऐलानी जग्गामा बस्दै आएका भूमिहीनलाई जग्गाधनी पुर्जा दिने भनेकोले यहीँ बसेका छौं,’ उनले भने, ‘सरकारले हामीलाई जग्गा दिने छ ।’

ज्योति पनि जग्गा पाउने आशमा ०६१ सालदेखि संरक्षण क्षेत्रमा बस्दै आएकी छिन् । उनी गाउँका मानिससँगै कृष्णसार संरक्षण क्षेत्रमा आएकी हुन् । बालबच्चासहित यहाँ आएर उनले टहरा बनाइन् । १० कट्ठा ऐलानी जग्गा कब्जा गर्दै खेती गरी रहेकीछिन् । १५ नम्बरमा घरमा परिवारका अन्य सदस्य बस्छन्,’ उनले भनिन्, ‘गाउँमा थोरै जग्गा भएकोले यहाँ आएका हौं,भविष्यमा सरकारले दिन्छ भन्ने विश्वास छ ।’

 

देवराज र ज्योति जस्ता संरक्षण क्षेत्रको जग्गामा ४९ घरधुरी बसेको कृष्णसार संरक्षण समितिले जनाएको छ । सशस्त्र द्वन्द्वको समय मुलुककै दुर्लभ वन्यजन्तु संरक्षण क्षेत्रमा अतिक्रमण गर्नेको होड नै चल्यो । गाउँ गाउँबाट कृष्णसार क्षेत्रको फाँटमा अस्थायी टहरा बनाउँदै करिब ३ सय ५० बिघा जग्गा अतिक्रमण गरि बसेको प्रमुख संरक्षण अधिकृत विनय झाले बताए ।

सशस्त्र द्वन्द्वको समय ०६१/०६२ सालमा कृष्णसार संरक्षण क्षेत्रभित्रको मुख्य चरनक्षेत्र भन्दा उत्तर पूर्वको बागेश्वरी फाँट र बर्दिया राष्ट्रिय निकुञ्जको नाममा अधिग्रहण गरेको जग्गा सुकुम्बासीका नाममा अतिक्रमण भएको उनले जनाए । मुलुुककै दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसार बर्दिया गुलरिया-२ खैरापुर क्षेत्रमा छरिएर रहेको छ । अतिक्रमित क्षेत्र कृष्णसारको चरिचरण क्षेत्र भएका कारण साँघुरिँदै गएको छ ।

०२८ सालदेखि यस क्षेत्रमा बसोबास गर्दै आएका नम्बरी जग्गाधनीलाई सरकारले ०५२/०५३ मा कृष्णसार संरक्षण गर्न त्यहाँ बसोबास गरेकालाई अन्यत्र स्थान्तरण गर्ने मुआब्जा दिएको थियो । ९३ घरधुरीले रकम बुझेपनि कतिपय त्यही बसोबास गरि रहेकाछन् । गुलरिया-२ का किशोर यादवले मुआब्जा बुझेका बुढापाकाका छोरा,नातीले समेत संरक्षण क्षेत्र अतिक्रमण गरि बसेको बताउँछन् । उनीहरुलाई नहटाएका कारण कृष्णसार संकटमा पर्दै गएको छ,’ उनले भने, ‘मुआब्जा पनि बुझ्ने,त्यही बसेर थप जग्गा कब्जा गर्ने काम बढ्दै गएको छ ।’

उनले ०५३ सालमा संरक्षण क्षेत्रको नम्बरी जग्गाको मुआब्जा पाएर अन्यत्र स्थान्तरण भएका हुन् । संरक्षण क्षेत्रको बस्ती र आसपासका वन क्षेत्रपनि कृष्णसारका लागि जोखिम रहेको किशोर यादव बताउँछन् । वन क्षेत्रबाट आउने चितुवाको आक्रमणले कृष्णसार मारिँदै गएको छ । कृष्णसार संरक्षण परिषद्का जिल्ला अध्यक्ष दिपेन्द्र यादवले ०२८ सालदेखि बसेकालाई सरकारबाट ०५२/०५३ सालमा मुआब्जा दिएकोले अझैपनि केहीले घर जग्गा नछाडेको बताउछन्। मुआब्जा लिएर घर जग्गा नछाडेकाले संरक्षण क्षेत्रको थप जग्गा अतिक्रमण गरि बसेका छन्,’उनले भने,‘ ०६१/०६२ सालमा घर जग्गा भएका मानिसले संरक्षण क्षेत्रको जग्गा अतिक्रमण गरेकाको छानबिन हुनुपर्छ ।, त्यस्ता मानिसलाई छानबिन गरि कारबाही गर्न सबैको सहयोग हुनुपर्ने उनले बताए । संरक्षण क्षेत्र अतिक्रमणका कारण कृष्णसार वन्यजन्तु चपेटामा परेका छन् ।

कृष्णसार संरक्षण क्षेत्रमा ०२८ सालमा बागलुङ,पर्वत लगायतका जिल्लाबाट मानिसहरु यहाँ आएर बसेका हुन् । त्यस बेला थोरै संख्यामा मानिस कृष्णसार क्षेत्र र आसपासको ऐलानी र नम्बरी जग्गामा बसोबास गर्दै आएका थिए । ०२८ सालमा फाटफुट कृष्णसार रहेको गुलरिया-२ का ७२ वर्षिय ओम प्रसाद शर्मा बताउँछन् । यस क्षेत्र वस्तुभाउ चरिचरण स्थल थियो,’कृष्णसार बढ्दै गएपछि साविक शाही बर्दिया राष्ट्रिय निकुञ्जका र वनका कर्मचारीले गस्ती गरेका थिए ।, ७ सय ८ विघा क्षेत्रफल रहेको संरक्षित क्षेत्र रहेको छ ।

संरक्षण क्षेत्रको परिषद्का सदस्य कुल प्रसाद सुवेदीले साविक गाउँ पञ्चायतले यहाँ बस्ने माथि कर उठाएको बताउँछन् । जग्गा बैंकमा ऋण लिएकाले समेत मुआब्जा पाउदा तिर्न नसकेर केही यहाँ बसेकाछन्,’ उनले भने, ‘मुआब्जा बुझेका केही बाहेक सबै अन्यत्र स्थान्तरण भई सकेका छन् ।’

०२८ सालमा यहाँ ऐलानी जग्गामा बस्दै आएका पूर्णबहादुर खत्रीको पीडा उस्तै छ । ‘राज्यले हामीलाई मुआब्जा दिए यस क्षेत्र छाडेर अन्यत्र जान्छौं,’ उनले भने, ‘सरकारले वेवास्ता गरेका कारण कृष्णसार संकटमा परेको छ ।’ ०७४ सालमा यहाँ ३ सयजति कृष्णसार रहेकोमा अहिले संख्या १ सय ९१ मा झरेको छ ।

सरकारले ०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । मुलककै दुर्लभ मानिएको कृष्णसार बर्दियाको सदरमुकाम गुलरिया-२ स्थित खैरापुर संरक्षण क्षेत्रमा फैलिएर रहेका छन् । कृष्णसार काँस र दूबोको खुला घाँसे मैदानमा बस्न रुचाउँछ । आवादी छेउमा घरपालुवा जनावरसँगै चर्ने र बस्ने गर्दा गाउँका कुकुरबाट पनि यसलाई डर छ ।

हाल भाले ४०, पोथी १ सय २० र बच्चा ३१ गरि १ सय ९१ वटा कृष्णसार रहेको रेन्जर अरुण चौधरीले बताए । ‘आर्थिक वर्ष ०७८/०७९ मा भाले ५,पोथी ८ र बच्चा २३ गरि ३६ वटाको मृत्यु भएको छ । ती मध्ये चितुवाको आक्रमणमा ७, हुडारको आक्रमणमा ७ ,कुकुरको आक्रमणमा ४,स्यालको आक्रमणमा १४ र कालगतिले ४ वटा कृष्णसार मारिएको छ,’ उनले भने, ‘आव ०७९/८० मा स्याल र फ्याउरोबाट २६ र प्राकृतिक कारणबाट ७ वटा कृष्णसार मारिएका छन् ।’ सरकारले वर्षौंदेखि यहाँ बासोबास गरेकाको उचित व्यवस्थापन र अवैध रुपमा अतिक्रमण गरि बसेकालाई हटाउनु पर्ने संरक्षणकर्मी बताउँछन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु