बर्दिया /ईकान्तिपुर — तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने राजापुर–गेरुवा जोड्ने २७ किमी सडक खण्ड पाँच वर्ष वितिसक्दा पनि निर्माण हुन सकेको छैन । राजापुर नगरपालिकाको खैरीचन्दपुर देखि गेरुवा गाउँपालिकाको पर्यटकीय केन्द्र ओखरिया बाँधसम्मको सडक निर्माण हुन नसक्दा आउजाउमा सास्ती खेप्न बाध्य छन् स्थानीय ।
कान्छा राम/राजेन्द्र जेभी धनगढी–४ का निर्माण कम्पनीसँग हुलाकी आयोजना अन्तर्गत २०८० असोज ३ गते सम्पन्न गर्नेगरी ०७७ साल चैत ४ गते ठेक्का सम्झौता भएको थियो । उक्त सडकको हालसम्म भौतिक प्रगति २६ प्रतिशत मात्र भएको छ । यसै गरी वित्तिय प्रगति पनि २६ प्रतिशत रहेको हुलाकी आयोजनाले जनाएको छ ।
Advertisement
सडकमा ग्राभेल छरेर रोकी राखेको छ भने, जताततै खाडलले आउजाउ गर्दा निकै सास्ती भोग्नु परेको पालिकाका अध्यक्ष जमान सिंह केसीले बताए । ‘कम्पनीले बाटोमा माटो र ग्राभेल थुपारेको छ,’ उनले भने, ‘कैयौं पटक हामीले हुलाकी आयोजना र ठेकेदार कम्पनीलाई पत्राचार गरी सडक निर्माण छिटो गर्न भन्यौं, वास्ता नै भएन । वर्षायाम सुरु भएपछि सडकमा पानी जम्ने भएकाले साना सवारी साधन दुर्घटनामा पर्ने जोखिम भएको छ ।’
हुलाकी राजमार्गको कार्यालय, नेपालगन्जबाट ठेक्का सम्झौता गरेका ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नसकेर दुई पटक म्याद थप गरेको छ । उक्त कालोपत्रे सडक ५३ करोड १२ लाख ६१ हजारको लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । कम्पनीलाई हुलाकी आयोजनाले छिटो काम सम्पन्न गर्न ताकेदा गरे पनि वास्ता नगरेको गुनासो कर्मचारीले गरेका छन् ।
हुलाकी राजमार्गको कार्यालय, नेपालगन्जका प्रमुख लिला बहादुर भण्डारीले सडक निर्माणमा ढिलासुस्ती भएकोले हालसम्म ठेकेदार कम्पनीलाई ३१ औं पटक पत्राचार गरिसकेको बताए । ‘कछुवा गतिको कामले यस्तै रहिरहृयो भने एक दशकसम्म पनि सडक निर्माण हुने छैन,’ उनले भने, ‘दुई पटक म्याद थपे पनि कामले गति पाएको छैन ।’
उक्त जेभीले पछिल्लो पटक ०८२ फागुन ११ गते सम्मको म्याद थपेको छ । म्याद थपे पनि काम अघि बढेको छैन । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले सडक निर्माणमा कुनै विवाद नभएको बताए ।
‘विद्युत्, जग्गा लगायत सबै क्षेत्रमा कुनै अवरोध छैन,’ उनले भने, ‘यस्तो परिस्थितिमा काम नगर्नु चरम लापरबाही हो ।’ सडक निर्माण नहुँदा पर्यटकीय केन्द्र ओखरिया इन्टेकमा पर्यटक आगमन बढन नसकेको स्थानीय शंकर थारुले बताए । निर्माण व्यवसायी भिमबहादुर साउदले थपेको म्याद भित्र काम सम्पन्न गर्ने दाबी गरे । स्थानीय भने थपिएको म्यादभित्र पनि सडक निर्माण हुने सम्भावना नरहेको बताउँछन् ।









