कर्णाली विकास बैंक घोटालाः नेपालगन्जका पशुपति दयाल मिश्र पक्राउ

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा नेपालगन्जका पशुपति दयाल मिश्र पक्राउ परेका छन् । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म ब‌ैकको अध्यक्ष थिए । पक्राउ परेका मिश्र हाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन । उनलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुलाई बाँके नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान थापाको कमाण्डको एउटा टोली नेपालगञ्ज गएर अनुन्सन्धान गरिरहेको सीआईबीले बताएको छ ।

Advertisement

पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ । उक्त बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु