काठमाडौं । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर गरिएका पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । उनी बिहान ९ बजे अदालत पुगेका हुन । केहीबेरमा उनीविरुद्ध थुनछेक बहस हुनेछ ।
Advertisement
युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबीसहित मुद्दा दायर गरेको हो ।
प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरी प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।









