नेपालगन्ज । नेपालगन्जमा २७ वर्षअघि नै पेट्रोलिअम अन्वेषणको सम्झौता भएको खुलेको छ । दैलेखमा पेट्रोलिअम अन्वेषणको काम भईरहेका बेला नेपालगन्ज क्षेत्रमा अन्वेषणको सम्झौता भएको खुलेको हो ।
अन्वेषणको सम्झौता अमेरिका दुई वटा कम्पनीहरू कम्पनी र टेक्साना रिसोर्सेस कम्पनीले१९९८मा नेपालगन्ज क्षेत्रमा अन्वेषणको सम्झौता गरेको थियो । नेपालगन्जसंगै चितवनमा पनि उक्त कम्पनीले पेट्रोलिअम अन्वेषणको सम्झौता गरेको थियो। तर, उक्त कम्पनी पनि माओवादी द्वन्द्वलाई कारण देखाउँदै बाहिरिएको थियो ।
Advertisement
बीबीसीका अनुसार दैलेखबाहेक देशका १० स्थानमा पहिचान गरिएका पेट्रोलिअम पदार्थ रहेका सम्भावित स्थानहरूमा भने पछिल्लो समय अन्वेषणको कुनै गतिविधि नगरेको अधिकारीहरूले बताएका छन्।
पश्चिमको धनगढीदेखि पूर्वको विराटनगरसम्मका चुरे क्षेत्रमा पेट्रोलिअम पदार्थको भण्डारण रहेको हुन सक्ने सङ्केत ४५ वर्ष अघि गरिएका अध्ययनहरूले नै देखाएका थिए। थप अध्ययनपछि पेट्रोलिअम भण्डारणका सम्भाव्य स्थानलाई १० खण्ड अर्थात् क्लस्टरमा विभाजित गरेको थियो।
विसं २०३६।३७ सालमा अन्तर्राष्ट्रिय विकास संस्था विश्व ब्याङ्कको प्राविधिक सहयोगमा फ्रान्सको भूगर्भसम्बन्धी कम्पनी सीजीजीले नेपालको दक्षिणी भूभागको ४८,००० वर्ग किलोमिटर क्षेत्रमा ुएरोम्याग्नेटिक सर्वेक्षण गरेको थियो।
उक्त सर्वेक्षणबाट नेपालको भूसतहमुनि पेट्रोलिअम पदार्थ हुन सक्ने विभिन्न भौगर्भिक सङ्केतहरू पत्ता लागेको खानी विभागका प्रतिवेदनहरूमा उल्लेख छ।
नेपालमा पेट्रोल पाइने सम्भावित स्थानहरू
खानी विभागको पेट्रोलिअम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार यसअघि विभिन्न कम्पनीहरूले गरेका अध्ययनका तथ्याङ्कका आधारमा नेपालले १० क्षेत्रमा पेट्रोलिअम भण्डार रहेको आशा गरेको छ।
ूपहिलेको अध्ययनको तथ्याङ्क, पछिल्लो समय गरिएको सर्वेक्षण र भौगर्भिक संरचनाहरूको पहिचानका आधारमा ती स्थानमा पेट्रोलिअम भण्डार रहेको आकलनमा थप काम गर्ने क्षेत्र छुट्ट्याइएको हो। त्यसमा विस्तृत अध्ययन हुनै बाँकी छ,ू उनले भने।
पेट्रोलिअम अन्वेषण परियोजनाका पूर्वप्रमुख समेत रहेका खानीविज्ञ श्यामबहादुर केसी नेपालको जस्तै भौगर्भिक संरचना रहेका भारतको असम र पाकिस्तानको पोतवार क्षेत्रमा पेट्रोलिअम खानी भेटिएका कारण नेपाल पनि आशावादी हुने ठाउँ भएको बताउँछन्।
ूदुवै ठाउँको भौगर्भिक अवस्थिति नेपालको जस्तै भएका कारण नेपालको महाभारतभन्दा दक्षिणका क्षेत्रमा पनि लामो समयदेखि हाइड्रोकार्बन सञ्चित हुन सक्छ भन्ने अर्को आधार पनि छ,ू केसी भन्छन्।
नेपालमा विसं २०४५ सालमा मोरङको बाहुनीमा ३,५२० मिटर गहिराइसम्म ड्रिल गरिएको थियो। मोरङको १० नम्बर खण्डको अन्वेषणका लागि नेपालले गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा द नेदरल्यान्ड्सको शेल एक्स्प्लोरेशन बी भी र अमेरिकारको ट्राइटन एनर्जी कर्पोरेशन छनौट भएका थिए।
ती कम्पनीहरूले विस्तृत साइस्मिक सर्वेक्षणपछि बाहुनीको राधानगरमा ड्रिलिङ गरेर अध्ययन गरेका थिए। ती नतिजामा हाइड्रोकार्बनका सङ्केतहरू नदेखिएपछि पेट्रोलिअम भण्डार नभएको निष्कर्ष निकालिएको थियो।
नेपालमा पेट्रोलिअम पदार्थको अन्वेषणका लागि यूके, अमेरिका, द नेदरल्यान्ड्स, फ्रान्स, नर्वे र चीनसहितका देशहरूले विभिन्न तहमा काम गरेका छन्।
सन् २००४ मा यूकेको केर्न एनर्जीले धनगढी, कर्णाली, लुम्बिनी, मलङ्गवा र वीरगन्जमा पेट्रोलिअम अन्वेषणको सम्झौता गरेको थियो। तर त्यही समयमा उत्कर्षमा पुगेको माओवादी द्वन्द्व र त्यसपछि भएका राजनीतिक उतारचढावका कारण उक्त कम्पनी बीचैमा काम छोडेर बाहिरिएको थियो।
ूभारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि सम्झौता खारेज गर्नुपर्यो, पेट्रोलिअम अन्वेषण परियोजनाका प्रमुख नापित बताउँछन्।
नेपालका कानुन र नियमले अन्वेषणबाट पेट्रोलिअम पदार्थ भएको पत्ता लागे त्यसको उत्पादनको जिम्मा पनि अन्वेषण गर्ने कम्पनीले नै पाउने, नेपालले उत्पादन बापत १२.५ प्रतिशत रोयल्टी र बाँडफाँड सम्झौताअनुसार उत्पादनको हिस्सा पाउने व्यवस्था गरेको नापित बताउँछन्।










