नेपालगन्ज । हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनाको स्थानीय अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागि नेपालगञ्ज ल्याईएको छ ।
१४ जना घाइतेमध्ये सिमकोट गाउँपालिका-२ का कुम्मेर भण्डारी, खार्पुनाथ गाउँपालिका-३ का हर्क रावल, वडानम्बर २ का पानकला छत्याल र ट्याक्टर चालक डोनबहादुर पुनमगरलाई नेपालगन्ज ल्याईएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
Advertisement
रिफर गरिएका घाइतेहरुको कसैको हात, खुट्टा भाँचिएको छ भने कसैको पेट, टाउँकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । अन्य १० जनाको जिल्ला अस्तालमै उपचार भइरहेको छ ।
दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको क०२००१त ०३५३ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । घाइते भएका उनीहरूलाई प्रहरी र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पतालमा पुर्याएका थिए ।
दुर्घटनामा परेकाहरू चुवाखोला वनबाट पोड्या संकलन गरी घर फर्किंदै थिए । उनीहरु दोजाम गाउँबाट बालुवा लोड गरेएको ट्याक्टरमा चढेर आएको प्रहरीको भनाइ छ ।
ट्याक्टर दुर्घटनामा घटनास्थलमै खार्पुनाथ गाउँपालिका-३ राया गाउँका अन्दाजी २० वर्षीय मिलन बोहराको मृत्यु भएको थियो ।









