बिबिसी । नेपालगञ्ज उपमहानगरपालिकाकी सपना भट्टराई यसपालिको दशैँमा पनि आफ्ना मुस्लिम साथीसंगीलाई घरमा स्वागत गर्ने तयारीमा छिन्।
Advertisement
हुन त सपनाले कसैलाई निम्तो गरेकी छैनन्।
तर पनि विगतका वर्षमाझैँ मुस्लिम साथीसंगी दशैँ मनाउन घरमा आउनेमा ढुक्क छिन् उनी।
“विवाह, व्रतबन्धमा पो निम्तो गर्ने हो, दशैँतिहार जस्ता चाडबाडमा मुस्लिम साथीहरू आफै मेरो घरमा आउँछन्। म पनि उनीहरूको इद, बकरइदमा आफै जान्छु,” उनी भन्छिन्।
धर्मका हिसाबले फरक भएतापनि नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायको भावनात्मक सम्बन्ध परम्परागत रूपमा नै बलियो रहँदै आएको सपना बताउँछिन्।
“चाडबाड भनेकै एक–आपसमा शान्ति, सद्भाव र प्रेम साटासाट गर्ने माध्यम हो, धर्म फरक भएतापनि हामीले हरेक चाडबाड मिलेर मनाउँदै आएका छौँ,” उनले भनिन्।
“जसरी इदमा मेरा छोराछोरी मुस्लिम छिमेकीको घरमा गएर मनले इच्छाएको परिकार खानुका साथै दक्षिणा लिएर आउँछन्, त्यसैगरी मुस्लिम दिदीबहिनी दशैँमा मेरो घरमा आएर मिठो मसिनो जे हुन्छ खाएर जान्छन्।”
एक अर्काको धर्मलाई सम्मान गर्दै आफ्नो धर्मले वर्जित गरेको कुरामा कहिल्यै करकाप नगरेको सपना बताउँछिन्।
“उहाँहरूको धर्ममा टीका लगाउन मिल्दैन तर पनि दशैँ टीकाको दिन खुसी साट्न अवश्य आउनुहुन्छ।”
केही साताअघि नेपालगञ्जमा दुई समुदायबिचको धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने खालका घटना हुँदा आफूसँग मन मिल्ने मुस्लिम साथीहरूबीच निरन्तर फोन मार्फत छलफल चलेको उनी सम्झन्छिन्।
यस्तै वर्षौँदेखिको सम्बन्धले आफूहरूलाई बलियो बनाएको उनको बुझाइ छ।
नेपालगञ्जका मुस्लिम समुदायले आफ्नो धर्मको इद, बकरइद र मोहरममा जस्तै हिन्दूहरूको पर्व दशैँ र तिहारमा पनि उत्तिकै आफ्नोपन महसुस गर्ने गरेको बताउँछन्।
मुख्य चाडबाडमा एकअर्कामा शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा हुने मिश्रित धर्मावलम्बीको उपस्थितिमा त्यो झल्किन्छ।
नेपालगञ्जको सल्यानी बागका मोहम्मद समिमले आफ्नै घरको छेउमा प्रत्येक वर्ष दुर्गा मूर्ति स्थापना गरेर हिन्दू छिमेकीले नवरात्र भरी पूजा आराधना गर्दै आएको बताउँछन्।
“जब दशैँको नवरात्रि सुरु हुन्छ, तब हाम्रो टोल मोहल्ला नै रमाइलो हुन्छ,” उनी भन्छन्।
उनको टोलमा हिन्दू र मुस्लिम समुदायको मिश्रित बसोबास छ, एउटा घर हिन्दूको त अर्को मुस्लिमको।
घटस्थापनाको दिन दुर्गा मूर्ति स्थापना गर्दा टोलभरिको बाटोमा झिलिमिली बत्तीले गर्दा साना बालबालिकादेखि वृद्ध वृद्धाको मनमा छुट्टै किसिमको रमाइलो महसुस हुने समिम सुनाउँछन्।
समिमको कपडा सिलाउने पसल छ। दशैँमा हिन्दू समुदायका मानिसहरूका रोजाइका कपडा सिलाउन उनी व्यस्त हुन्छन्।
“दशैँको चहलपहलले गर्दा आफ्नै चाडपर्व आएको जस्तो महसुस हुन्छ, दिनभरि यता कपडा सिलाउन भ्याई नभ्याई त साँझको समयमा टोल टोलमा दुर्गा माताको आरतीको बेलाको रमाइलो,” उनले भने।
नेपालगञ्जको धार्मिक सद्भाव अन्तर्राष्ट्रिय स्तरमा समेत मौलिक रहेको पूर्वमन्त्री मोहम्मद इश्तियाक राई ठान्छन्
तस्बिरको क्याप्शन,
नेपालगञ्जको धार्मिक सद्भाव अन्तर्राष्ट्रिय स्तरमा समेत मौलिक रहेको पूर्वमन्त्री मोहम्मद इश्तियाक राई ठान्छन्
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले करिब तीन दशकदेखि दशैँ-तिहारमा टीका लगाउँदै आएको बताउँछन्।
उनीजस्तै नेपालगञ्ज उपमहानगरपालिका–४ का निवर्तमान वडा अध्यक्ष सफिक बेहाना देखि नेपालगञ्जकै बासिन्दा जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले पनि डेढ दशकदेखि दशैँमा टीका जमरा लगाउँदै आएको बताउँछन्।
दशैँमा मात्र होइन इश्तियाकले नेपालगञ्जको ओम शान्ति ब्रह्मकुमारी संस्था पुगेर माताको हातबाट टीका थाप्ने गर्छन्।
उनी भन्छन्: “दशैँमा टीका जमरा लगाउनु मेरो लागि केही नौलो होइन, त्यो भन्दा ठूलो कुरा मैले कयौँ ठाउँमा हिन्दूहरूको मन्दिर निर्माण गरेको छु।”
यस बर्ष समेत हिन्दू साथीभाइसँग मिलेर दशैँ धूमधामकासाथ मनाउने योजना रहेको उनी बताउँछन्।
“हाम्रो इदमा हिन्दू साथीहरू आएर इद मुबारक भन्दै गला मिलाउनुहुन्छ, हामी पनि उहाँहरूलाई दशैँको शुभकामना दिँदै सँगै बसेर त्यसलाई मनाउँछौँ,” पूर्वमन्त्री इश्तियाक राई भन्छन्।
अब्दुल वाहिद मन्सुरीले करिब तीन दशकदेखि दशैँ-तिहारमा टीका लगाउँदै आएको बताउँछन्।
नेपालगञ्जका रैथाने हिन्दू र मुस्लिम समुदाय विगतदेखि यसरी नै सद्भाव कायम गरेर बस्न चाहेको पूर्वमन्त्री राईको भनाई छ।
केही दिनअघि नेपालगञ्जमा दुई धार्मिक समुदायबीच सिर्जना भएको द्वन्द्व ‘बाह्य शक्तिको खेल’ हुनसक्ने उनको मत छ।
“नेपालगञ्जको धार्मिक सद्भाव अन्तर्राष्ट्रिय स्तरमा समेत मौलिक मानिन्छ। यसलाई कसैले सहजरुपमा बिथोल्न सक्दैन।”
पूर्वमन्त्री राईकै बोलीमा नेपालगञ्जका धर्मगुरुहरूले समेत आफ्नो बोली मिसाउने गर्छन्।
पश्चिम नेपालको एक प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले दशैँमा जहिले पनि सबैभन्दा पहिले इस्लाम धर्मगुरुको शुभकामना कानमा गुन्जिने गरेको अनुभव सुनाउँछन्।
अन्तर धार्मिक सामाजिक सद्भाव समिति बाँकेका संयोजक समेत रहेका योगी भन्छन्: “हाम्रो पर्वमा इस्लाम धर्मका मौलानाले सुरुमा शुभकामना दिनुहुन्छ, उहाँहरूको पर्वमा सर्वप्रथम मैले नै शुभकामना दिएको हुन्छु सायद यस्तो उदाहरण विश्वमै छैन होला।”
इस्लाम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले पनि नेपालगञ्जको सद्भावलाई गुलाबको फूलको संज्ञा दिन्छन्।
उनी भन्छन्: “हाम्रो नेपालगञ्ज सहरको सद्भाव एउटा गुलाबको फूल जस्तै सुन्दर छ, जो विश्वका अन्य शहरमा समेत चर्चामा छ।”









