नेपालगन्ज । यो वर्ष निकै छिटो रोपाई गर्न पाएपछि हर्षित किसान पानी नपरेका कारण चिन्तित बनेका छन् । पानीको स्रोत नभएको खेतमा रोपो सुक्न थालेको छ । रोपाई गरिएको खेतमा झार उम्रिएको छ । गाँजा लाग्ने समयमा वर्षा नहुँदा रोपो फस्टाएको छैन । छिटो पानी परेका कारण किसानहरु निकै छिटो बीउ राखे । एक महिनाअघि बर्षा भएपछि किसानहरुले रोपाई गरेर करिव सकेका थिए । बाँके खजुरा गाउँपालिका उढरापुरका किसान रामऔतार यादवले लामो समयदेखि बर्षा नभएका कारण रोपो सुक्न थालेको गुनासो गरे । उनले भने,‘बर्षाले साथ नदिएजस्तो छ । रोपो सुक्न थालिसक्यो। ट्युबेलबाट िसचांई सम्भव भइरहेको छैन ।’
किसानहरुले रोपो सुक्न नदिन हरसम्भव प्रयास गरिररहेका छन् । उनीहरुले सडक छेउछाउको खाल्डोमा जमेको पानी, उपलब्ध भएका पोखरीमा मोटर, पम्पसेट लगाएर सिंचाई गर्ने प्रयास गरिरहेको देखिन्छन् । बोरिङ गाडेका किसानले पम्पसेटले सिंचाई गरिरहेका छन् । रोपो सुक्ने बेला डिजलको मुल्य बढेकाले पनि किसान मारमा परेका छन् । ‘एक महिना भयो, पानी परेको छैन ।
Advertisement
सिंचाई गर्ने कुलो नहर पनि छैन,’ अर्का खजुरा गाउँपालिका रनीयापुरका किसान नफिस अहमद शेष भन्छन्,‘अझै एकदुई हप्ता पानी नपर्ने हो भने रोपाई मर्छ । श्रम र लगानी हाम्रो खेर जाने छ ।’ उनले डेढ विगहा जग्गामा रोपाई गरेको सुनाए । गत वर्ष बीउ नउम्रेर उनले दुःख पाएका थिए । ‘सिंचाईको सुविधा नभएसम्म यस्तै हो । कहिले बाढी पानी पर्छ, कहिले पानी नै पर्दैन । राम्रोसंग खेति गर्नै पाईदैन,’ उनले भने,‘यो वर्ष धान राम्रै होला भन्ने आश थियो । तर अब त्यो पनि रहेन ।’
बा“केमा ५२ हजार २ सय ३८ हेक्टर खेती योग्य जग्गा छ । ३६ हजार ५ सय हेक्टर जग्गामा धान खेती हुन्छ । आकासे बर्षाले साथ दिएको बर्ष बाँकेमा करिव १ लाख ३८ हजार ७ सय टन धान उत्पादन हुने गरेको छ । त्यस्तै बर्दियामा ५२ हजार २ सय ५० हेक्टर जग्गामा धान रोपाई हुने गरेको छ । सिक्टा सिंचाई आयोजनाको काम पूरा नभएसम्म यहा“का किसानलाई अकासे भरमै खेति गर्नु पर्ने बाध्यता छ । सिक्टा सिंचाई आयोजना पूरा भएमा ५२ हजार हेक्टर जग्गामा सिंचाई पुग्ने लक्ष्य छ ।









