बर्दिया /इकान्तिपुर — लगातारको वर्षाले बबई नदीमा जलस्तरले खतराको चिह्न पार गर्न लागेको छ । चेपाङस्थित जलमापन केन्द्रमा मंगलबार बिहान ७ बजेर १३ मिनेटमा जलस्तर ६ दशमलव ८७ मिटर पुगेको छ । ७ मिटर पुग्नासाथ बाढी आउने भएकाले बर्दियाको बारबर्दिया, ठाकुरद्वारा, मधुवन र गुलरियाको तटीय क्षेत्रमा जोखिम बढेको छ ।
बबई नदी सल्यान र दाङ हुँदै बर्दियामा आएर भारत पस्ने गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरेको छ । चेपाङ हुँदै सदरमुकाम गुलरियामा बाढी पस्न करिब ४ घण्टा लाग्ने गर्छ । जल बहाव बढ्दै गएपछि मंगलबार विहान स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ ।
Advertisement
बबई नदी तटट्यठ क्षेत्रमा रहने सबैलाई सम्भावित प्रकोपबाट बच्न बेलैमै तयारीमा बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
यसैबीच तटीय क्षेत्रमा साइरन बजाउन थालिएको छ । गुलरिया स्थित बबई पुल (भादा) मा पानीको सतह ६ दशमलव ५० पुग्नासाथ खतरा हुने भएकाले सुरक्षित रहन स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । वर्षा नरोकिएकाले जलवहाब बढ्दै गएको छ ।
०७१ साउन २८ र र ०७४ साउन २९ मा बबईमा भीषण बाढी आएको थियो । बाढीले ३४ जनाको ज्यान जानुका साथै ९० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए । कर्णाली नदीमा भने हाल जलस्तर ७ दशमलव ५ मिटर रहेको छ । जलस्तर १० पुग्नासाथ कर्णालीमा बाढी आउने गर्छ ।









