नेपालगन्ज । पानीको बहाव खतरा पार गर्न थालेको बाँकेको राप्ती र बर्दियाको बबई नदीको बहाव घटेको छ । बाँके जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रमा जलसतहले मङ्गलबार चेतावनी तह पार गरेर चार मिटर ९२ सेन्टिरमिटरसम्म पुगेपनि पछि क्रमशः घट्दै गएर बुधबार बिहानसम्म पानीको सतह ३ मिटर ४३ सेन्टिमिटरमा झरेको छ ।
Advertisement
बाँकेको कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा पनि मङ्गलबार जलसतह सतर्कताको बिन्दु नजिक पाँच मिटर ७४ सेन्टिमिटर पुगेकोमा बुधबारसम्म घटेर ३ मिटर ५१ सेन्टिमिटरमा झरेको छ । त्यस्तै बबई नदीमा बेलुकीदेखि पानीको बहाव घट्न थालेको छ । लगातारको वर्षाले दिउँसोसम्म जलस्तर खतराको चिह्न पार गरेकोमा बेलुकादेखि घट्दै जान थालेको हो ।
दिउँसो १ बजेसम्म चेपाङ जलमापन केन्द्रमा ७ दशमलव १३ मिटर पानी बगेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य एवम् सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार बेलुकी ७ बजेसम्म बबईको पानीको बहाव घटेर ६ दशमलव १६६ मिटर बगिरहेको बताए ।








