काठमाडौँ/रातोपाटी । उत्तराखण्डको बाढीपहिरोमा हालसम्म कुनै नेपाली नागरिकको मृत्यु नभएको दूतावासले जनाएको छ।
पौडी गढवालमा पाँच नेपाली हराइरहेका छन्, उद्धार र खोजी कार्य जारी छ। परराष्ट्र मन्त्रीले उद्धार, खोजी र उपचारका लागि भारत सरकारसँग समन्वय गर्न निर्देशन दिएकी छिन्।
काठमाडौँ । भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
Advertisement
उत्तराखण्ड प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरण अनुसार साउन २० गते आएको पहिरोमा पहिरोमा परेकामध्ये हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने घटनास्थलबाट २ जनाको शव बरामद भएको नेपाली दूतावासले जनाएको छ । उद्धार गरिएका र मृत्यु भएकामध्ये कुनै पनि नेपाली नागरिक नरहेको दूतावासले जनाएको छ ।
त्यसै गरी, उत्तराखण्डको पौडी गढवाल जिल्लाको बागोडामा साउन २१ गतेमा आएको बाढीपहिरोमा पाँच जना नेपाली हराइरहेको दूतावासलाई विवरण प्राप्त भएको छ । घाइते भएका चार जना नेपालीमध्ये तीन जना घर फर्किसकेका छन् भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेको उपचार र आवश्यक सहयोगका लागि नेपाली दूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको नेपाली दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले आजै भारतस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गरेर उद्धार, खोजी तथा उपचारमा लाग्न निर्देशन दिएकी थिइन् ।
अस्मिता पोखरेल
धादिङबेंसी, साउन २३ गते । भारतको उत्तराखण्डमा सम्पर्कविहीन भएका धादिङका चारजना सम्पर्कमा आएका छन् । केही दिनदेखि मोबाइल नेटवर्क नभएकाले सम्पर्कविच्छेद भएकोमा हाल उहाँहरूसँग सम्पर्क भएको र सबै जना सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले चारै जना सकुशल रहेको खबर कार्यालयलाई जानकारी गराउनुभएको हो । सम्पर्कविच्छेदको कारण सुरुवाती रूपमा चिन्ता उत्पन्न भए पनि अहिले उहाँहरू सुरक्षित रहेकाले परिवारजन र स्थानीय तहले राहतको अनुभव गरेको जनाइएको छ ।
हाल ज्वालामुखी गाउँपालिका –२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ चारै जना सुरक्षित छन् । गोरखापत्र अनलाइन ।









