बबईले घेरिएको गाउँमा रातदिन त्रास

बबई (बर्दिया), साउन २५ गते । गुलरिया नगरपालिका वडा नं. १० मा रहेको महजिदियागाउँ चारैतिरबाट बबई नदीले घेरिएको छ । गाउँको सबै कारोबार दक्षिणतर्फ पर्ने भारतीय बजारसँग हुने गरेको छ । यहाँका बालबालिका विद्यालय अध्ययन गर्नसमेत भारतको गाउँमा जाने गर्छन् भने उनीहरूले नेपालीभन्दा पनि हिन्दी भाषाको बढी ज्ञान हुने गरेको छ ।

मल्लाह जातिको बसोबास रहेको महजिदियागाउँमा बसोबास गर्ने महल्लाह ६०–७० वर्ष पहिला जमिन्दारहरूको काम गर्न भारतबाट बर्दिया पुगेका बताइन्छ । कामदारका रूपमा आएका महल्लाह समुदायको बसोबास महजिदियागाउँमै भयो । २०७१ सालमा बबई नदीमा बाढी आउँदा महजिदियागाउँ सबै डुबायो । त्यसै गरी २०७४ र २०७९ सालको बाढीले पनि महजिदियागाउँलाई निकै दुःख दियो । धेरै पटक बाढीले पीडित भएका यो समुदायका मानिसले यही थातथलोलाई छाड्न सकेका छैनन् । बाढीबाट हैरान भएका महजिदियागाउँका स्थानीयलाई स्थानान्तरण गर्न गुलरिया नगरपालिकाले केही घर निर्माण गरेर अन्यत्र सार्दा पनि अहिले सम्म त्यो गाउँ खाली हुन सकेको छैन ।

Advertisement

सदरमुकामकेन्द्रित वडा नं. १० को महजिदियागाउँको अहिले पनि चारैतिरबाट बबई नदीले घरेको छ । जसले गर्दा उनीहरूलाई गुलरिया बजार आउनभन्दा भारतको लौकाही र चित्लहवा बजार जान सहज हुने गरेको छ । नेपाली बजार होस वा भारतीय बजार जता जाँदा पनि उनीहरू डुङ्गाको सहारामा बबई नदी पार गरेर जानुपर्ने हुन्छ । प्रत्येक वर्ष नदीको बाढीले महजिदियागाउँ नै बगाउने गर्छ तर पनि गाउँका स्थानीयले त्यो टापुलाई छोड्न सकेका छैनन् । गुलरिया नगरपालिका–१०, महजिदियाका ८० वर्षीय वैजनाथ मल्लाहले आफूहरू यही जन्मिएर हुर्किएकाले गाउँ छाड्न नसकेको बताउनुभयो ।

ज्याला मजदुरी गरेर खाने मल्लाह जातिका मानिस बस्ने उक्त गाउँ सधैँ खतरामा छ । सदरमुकाम गुलरिया आउन परे पनि उनीहरू डुङ्गा चढेर आउनुपर्ने हुन्छ । नगरपालिकाले घर बनाएर अन्यत्र सारेका स्थानीयबाहेक अहिले पनि २४ घरपरिवार महजिदियागाउँमा बसोबास गर्दै आएका छन् । सधैँ बाढी आउने उक्त क्षेत्रमा कुनै पनि किसिमको सुविधा छैन । बाढी आएर गाउँ पसे पनि भाग्नसमेत समस्या छ । महजिदियागाउँका ७५ वर्षका लक्ष्मण मल्लाहले नेपालमा बसे पनि आफूहरू भारतीय बजारसँग आश्रित हुनु परेको र बालबालिकाले पढ्ने विद्यालयसमेत भारतीय गाउँको भएकाले बालबालिका भारतीय भाषा बोल्ने गरेको बताउनुभयो ।

नदीको बिच भागमा रहेको गाउँमा न त खानेपानीको सुविधा छ न सडक सञ्जालको सुविधा छ । दैनिक दिनचर्या नै ज्याला मजदुरी गर्ने महजिदियागाउँका बासिन्दा सधैँ बबई नदीको त्रासमा बस्न बाध्य छन् । २०७१ सालमा बाढीले गाउँ बगाएपछि स्थानीय गैरसरकारी संस्था राधाकृष्ण थारू जनसेवा केन्द्रले गाउँमा निर्माण गरेको सेल्टर हाउस अहिले पनि महजिदियागाउँका स्थानीयले बाढीको समयमा प्रयोग गर्ने गरेका छन् ।गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु