नेपालगन्ज, साउन ३० गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ।
Advertisement
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले नेपालगन्ज उपमहानगर ४ बसपार्क नजिक लागु औषधको कारोबार भइरहेको सूचना अनुसार लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो १२ बजे छापा मार्दा नियन्त्रणमा लिन गोली प्रहार गरेको बताउनुभयो ।
प्रहरीले गोली प्रहार गरेपछि भारत बहराईच जिल्ला रुपैडिहाका २० वर्षीय कार्तिक कुमारलाई गोली लागेको जनाउँदै प्रहरीले कुमारसँगै नेपागन्ज–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी र भारतको रुपैडिहाका २० वर्षीय अजयकुमारलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट १६५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएको जनाइएको छ ।
प्रहरीले चलाएको गोली लागेर घाइते भएका कुमारको उपचार नेपालगन्जस्थित सन्जीवनी अस्पतालमा भइरहेको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो । कुमारको दायाँ खुट्टामा गोली लागेको छ । गोरखापत्र अनलाइन ।









