बाँकेमा भाइरल फ्लुबाट सबैभन्दा बढी बालबालिका प्रभावित

नेपालगन्ज, भदौ ४ गते । उम्सो गर्मीसँगै बिचबिचमा हुने वर्षाले गर्दा हाल आएर मौसमको चपेटामा परि बाँके जिल्लामा फेरी भाइरल ज्वरोका बिरामीहरु बढेका छन् । सो भाइरलबाट बालबालिका सबैभन्दा बढी पीडित भएको पाइएको छ ।

केही दिनयता समय समयमा भइरहेको वर्षा र उम्सो गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरुको सङ्ख्या बढेको विभिन्न अस्पतालहरुले जनाएका छन् ।

Advertisement

कुनै बेला अत्याधिक गर्मी हुने र कुनै बेला वर्षा भएर मौसम अलि शितल हुने गरेका कारण यस्ता बिरामीहरूको सङ्ख्या बढेको चिकित्सकहरूको भनाइ छ ।

भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा. संकेत कुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिंगान निस्कने लक्षण देखिने बिरामीहरु अहिले अस्पतालमा सबैभन्दा बढी आउने गरेका छन् । ती मध्ये बालबालिकाको सङ्ख्या धेरै हुने गरेको उहाँले बताउनुभयो ।

भेरी अस्पतालमा मात्र दैनिक दुईदेखि तीन सयसम्म भाइरल फ्लुका बिरामी उपचारका लागि पुग्ने गरेको डा. रिसालले बताउनुभयो ।

नेपालगन्जस्थित सन्जिवनि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले शिक्षण अस्पतालमा पनि भाइरल फ्लुका बिरामीहरु आउने क्रम अहिले धेरै बढेको बताउनुभयो ।

उहाँले त्यस्ता बिरामीमा बालबालिका र वृद्धवृद्धाको सङ्ख्या धेरै हुने गरेको बताउनुभयो ।

सोही प्रकारले नेपालगन्जका वरिष्ठ फिजिसियन प्रकाश नागले पनि मौसमका कारण भाइरलको सङ्क्रमण बढेको जनाउँदै उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम नहुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्या देखापरिरहेको बताउनुभयो ।

यसैगरी, नेपालगन्ज र कोहलपुरका नीजि क्लिनिकहरुमा पनि केही दिनयता भाइरल ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीहरु आउने क्रम बढेको चिकित्सकहरुले जनाएका छन् । मौसम परिर्वतन, दूषित पानी र खानपिनमा उचित ध्यान नपु¥याउँदा भाइरल फ्लुका बिरामी बढेको चिकित्सकहरुको भनाइ छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. शकिल अहमदले मौसमको सबैभन्दा बढी प्रभाव बालबालिकामा पर्ने हुँदा अहिले बालबालिका धेरै भारइल फ्लुबाट पीडित रहेको बताउनुभयो ।

उहाँले अहिले आफ्ना क्लिनिकमा आउने सबै बालबालिका भाइरल ज्वरो र रुघाखोकीबाट पीडित भएर आउनेहर रहेको जनाउँदै सचेत रहन अभिभावकसँग अपिल गर्नु भएको छ ।

नेपालगन्जका केही विद्यालयहरुले भाइरल फ्लुका कारण बालबालिका बिरामी परेपछि बिद्यालय आउने बालबालिकाको सङ्ख्या पनि घटेको जनाएका छन् । गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु