बर्दिया — गुलरिया नगरपालिका–१२ भैसाहीकी एक महिलाको ज्यान लिने चितुवा अझै नियन्त्रणमा आउन नसकेपछि स्थानीयहरुमा अझै त्रास छ । भैसाही गाउँदेखि पश्चिममा रहेको नर्सरी वन नजिकै आफ्नो खेतमा काम गरिरहेको अवस्थामा चितुवाको आक्रमणमा परेर स्थानीय जगतरानी थारुको मृत्यु भएको थियो ।
चार दिनअघि महिलाको ज्यान लिने चितुवालाई नियन्त्रणमा लिन ५ स्थानमा गेज राखिएको छ । बाखा र सुँगुरको पाठो गेजमा राखिएको छ । चितुवालाई लोभ्याउन पाठोसहितको गेजमा भने चितुवा नियन्त्रणमा नआएको स्थानीय श्री कृण्ण थारुले जनाए ।
Advertisement
महिलाको मृत्यु भएपछि स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका थिए। उनीहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि हुलाकी सडक अवरुद्ध पारेका थिए । ती महिलाको घाँटी र टाउको अलग भएको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ ।
शव भेटिएको बारे शनिबार दिउँसो करिब ११ बजेर २० मिनेटमा प्रहरी र सशस्त्र प्रहरी बललाई स्थानीयले जानकारी गराएका थिए ।









