गौर हत्याकाण्डमा सर्वोच्चले दिएको परमादेशबारे छलफल गर्न मोर्चाले बोलायो बैठक

काठमाडौं, भदौ ४- सर्वोच्च अदालत गौर हत्याकाण्डबारे गरेको परमादेशबारे छलफल गर्न संघीय लोकतान्त्रिक मोर्चाले बुधबार बैठक आह्वान गरेको छ।

मोर्चाको बैठक थापागाँउ स्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालय साँझ ५ बजे बस्ने राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए।

Advertisement

आजको बैठकमा छलफलका दुईवटा कार्यसूची रहेको उनले बताए।

बैठकमा गौर हत्याकाण्डमा अनुसन्धान गर्न अदालतले दिएको परमादेशबारे छलफल हुनेछ।

सर्वोच्च अदालतले २०६३ चैत ७ गते रौतहटको गौरमा भएको हत्याकाण्ड छानबिन गर्न परमादेश दिएको थियो। त्यस हत्याकाण्डमा मोर्चा घटक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि जोडिएका छन्। उनीविरूद्ध पनि अनुसन्धान गर्न उजुरी परेको थियो।

 

परमादेशबारे मंगलबार यादवले नआत्तिएको र आत्तिन जरूरी समेन नरहेको बताएका थिए। उनले गौरको घटना राजनीतिक विषय भएकाले राजनीतिक शक्तिहरूले समाधानको बाटो खोज्नुपर्ने बताएका थिए।

‘आज आएर करिब १९ वर्षपछि अनुसन्धन गर्ने भन्ने कुरा सर्वोच्चबाट परमादेश जारी भयो भन्ने कुरा सञ्चार माध्यमबाट थाहा पाइयो। तर त्यसको पूर्णपाठ नआइकन त्यसमा प्रतिक्रिया दिने बेला भएको छैन। पहिला पूर्णपाठ पढौँ। राजनीति कहीँ न कहीँ घुसेको जस्तो अनुमान मिडियाहरूले गरेका छन्। मैले अझै पनि किन यस्तो भन्नेकुरा खोजी नै रहेको छु। हामी न्यायका लागि लडेका हौँ। अन्यायका विरुद्ध, न्यायका पक्षमा खडा भएका हौँ,’ उनले भने।

आजको बैठकमा रुपन्देही–३ को उपनिर्वाचनको तयारी बारे पनि छलफल हुनेछ। मोर्चाले घटक दल नागरिक उन्मुक्ति पार्टीबाट साझा उम्मेदवार उठाउने तयारी गरेको थियो। तर नाउपाले दल दर्ता नगरेपछि उम्मेदवारी के गर्ने भनेर आज छलफल गर्ने झाले बताए। झाले त्यहाँ स्वतन्त्र उम्मेदवारी उठाउने तयारी भइरहेको पनि बताए।  सेतोपाटी

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु