भेरी अस्पतालद्वारा फार्मेसीका दुई कर्मचारी निलम्बित

नेपालगन्ज, भदौ ५ गते । नेपालगन्जस्थित भेरी अस्पतालको प्रशासनले अस्पताल फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले बीमामा आबद्ध भएका एक जना बिरामीलाई औषधी फिर्ता गरेर सो वापतको रकम नगदमा फिर्ता गरेको पाइएपछि दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेर स्पष्टीकरण सोधिएको बताउनुभयो ।

Advertisement

उहाँले एक जनालाई शुक्रबार र अर्कोलाई मङ्गलबार निलम्बन गरिएको बताउनुभयो । उनीहरुमाथि आन्तरिक अनुसन्धान भइरहेको पनि अस्पताल प्रमुख डा.सुवेदीले बताउनुभयो ।

निलम्बित कर्मचारीले दिने स्पष्टीकरणका आधारमा थप कारबाही प्रक्रिया अगाडि बढाइने पनि उहाँले जानकारी गराउनुभयो ।अस्पतालको फार्मेसीलाई व्यवस्थित बनाउनुका साथै अस्पतालका सेवा सुविधालाई सहज र सरल बनाउनका लागि अनुगमनलाई समेत तीव्र पारिएको अस्पताल प्रशासनले जनाएको छ ।

सोही उद्देश्यले गत केही समययता निरन्तर अनुगमन कार्य भइरहेकाले अनुगमनकै क्रममा फार्मेसी काउन्टरका कर्मचारीको त्रुटि भेटिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सेवा सुविधा बिरामीलाई उपलब्ध गराउँदा हुने कुनै पनि प्रकारको बेवास्ता र लापरवाहीलाई अनुगमनमार्फत पत्ता लगाएर कारबाही गरिने अस्पताल विकास समितिले जनाएको छ ।गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु