पाल्पा/ईकान्तिपुर—पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा स्क्रबटाइफसबाट एक बालिकाको मृत्यु भएको छ। सिद्धेश्वरस्थित वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १२ वर्षीया अस्मिता कुमालको स्क्रबटाइफसका कारण मृत्यु भएको हो।
Advertisement
लगातार ज्वरो आउने, रुघाखोकी लागेपछि उनले स्थानीय औषधि पसलबाट उपचार गराएकी थिइन्। तर अवस्था सुधार नभएपछि गुल्मीको रुरुक्षेत्रस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ उपचारका क्रममा उनको अक्सिजन स्तर कम देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुदन भट्टराईले जानकारी दिए।
उनका अनुसार समयमा अस्पताल नलगिएको, विभिन्न स्वास्थ्य समस्या देखिनुका साथै स्क्रबटाइफस पोजेटिभ पुष्टि भएकाले थप उपचारका लागि पाल्पा पठाइएको थियो। तर उपचारका लागि लैजाने क्रममा बाटोमै बालिका बेहोस भएकी र अस्पतालमा पुर्याउँदा उनको मृत्यु भइसकेको थियो।
भट्टराईका अनुसार यस वर्ष भदौ ६ गतेसम्म पाल्पामा २ सय ३८ जना स्क्रबटाइफसका बिरामी पोजेटिभ देखिएका छन्। यो तथ्याङ्क पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल र रामपुर अस्पताललगायतका स्थानबाट संकलन गरिएको हो।
उनले स्क्रबटाइफसको लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिन आग्रह गर्दै औषधि पसलबाट सामान्य रूपमा औषधि सेवन गरेर बस्ने वा हेलचेक्र्याइँ गर्ने कारणले ज्यान जोखिममा पर्ने भएकाले चिकित्सकको सिफारिसबिना औषधि नखान चेतावनी दिए।









