काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित छ । भोलि शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको छ।
यस प्रणालीको प्रभावले मिति २०८२-०३-१४ गते साँझ देखि मिति २०८२-०३-१६ गते बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागमा (चित्रमा देखाए अनुसार) मनसुन सक्रिय हुने सम्भावना रहेको देखिएको छ।
Advertisement
बंगालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको साथै त्यस क्षेत्रहरूमा न्यून चापीय प्रणालीको प्रभावको कारण २०८२ असार १४ गते शनिबार साँझ देखि २०८२ असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
तसर्थ, सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।
यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ, यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन नियमित हेर्नुहुन र अद्यावधिक मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ ।









