काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिका-१ निगालेमा जिप दुर्घटना हुँदा पूर्वसांसद नवीना लामासहित सहित ११ जना घाइते भएका छन् ।
Advertisement
तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नं को जिप आइतबार दिउँसो २:४० बजेतिर दुर्घटना हुँदा उनिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गाडीमा सवार १८ जनामध्ये ११ जना घाइते भएको र उनीहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहरुमा काभ्रेको चौरीदेउराली गाउँपालिका-७ की पूर्वसांसद ४० वर्षीया नवीना लामा, स्याङ्जा पुतलीबजार ५ बस्ने ३६ वर्षीया सिर्जना नेपाली, १३ वर्षीय शुभम श्रेष्ठ, ५ वर्षीय सुरज श्रेष्ठ, खानीखोला गाउँपालिका-५ मिल्चेकी ४० वर्षीया रचना मगर, १६ वर्षीया ईन्जिला सोडारी, दोलखा कालिञ्चोक-३ की ३२ वर्षीया मिना श्रेष्ठ, ३५ वर्षीय गोविन्द श्रेष्ठ छन् ।
यस्तै काभ्रेको खानीखोला–६ का ३५ वर्षीय दीपेन्द्र राना, एमाले वाग्मती प्रदेश उपसचिव पाँचखाल नगरपालिका-१२ की ३५ वर्षीया भक्तकुमारी लामा र बेथानचोक–१ का ७४ वर्षीय सिङताङ तामाङ घाइते रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।









