बर्दियामा दुई महिनाको अवधिमा लागुऔषध कारोबारमा संलग्न ४६ जना पक्राउ

बर्दिया /ईकान्तिपुर — सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउन यता ४६ जना लागुऔषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक महिला छिन् ।

उक्त अवधिमा ब्राउन सुगर २७ ग्राम २० मिलीग्राम बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी चरेश २ ग्राम ६९० मिलीग्राम रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरक्षक कृष्ण डांगीले बताए ।

Advertisement

गतवर्ष भदौ महिनाबाट भारतबाट ओसार पसार हुने लागुऔषध नियन्त्रण गर्न स्थानीय प्रशासनले सर्च अभियान सञ्चालन गरेपछि लागुऔषधका प्रतिवादी पक्राउ पर्न थालेको डांगीले बताए ।

बर्दियासँग जोडिएको भारतीय सीमा नाका ८३ किमी लामो छ । सबै भन्दा बढी लागुऔषध ओसार पसार बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिका हुँदै आएको छ ।

भारतीय बजारमा ब्राउन सुगर सस्तो पाइने भएकाले कारोबारीहरु त्यहाँबाट सीमा हुँदै नेपाल भित्र्याउने गरेका छन् । सीमा कटाएवापत नै एक हजार, पूर्वपश्चिम राजमार्ग पुर्‍याए १५ सय र सुर्खेतसम्म पुर्‍याए २५ सयसम्म दिइने गरेको लागुऔषध ओसापसारमा संलग्नहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।

भारतमा १० ग्रामसम्म लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरे पनि मुद्दा चल्दैन । काउन्टर पार्टको बैठकमा लागुऔषध नियन्त्रण गर्न भारतीय समकक्षीसँग कुरा उठाउने गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

भारतीय सुरक्षाकर्मीले सीमावर्ती क्षेत्रबाट बेला बेलामा लागु औषधका कारोबारीलाई पक्राउ गर्दै आएको उनले बताए । यसैगरी नाकाबाट आर्थिक वर्ष ०७९⁄०८० मा ३ महिला सहित ९१ जना, आर्थिक वर्ष ०८०/०८१ मा ५ महिला सहित २ सय ७ जना र गत आर्थिक वर्षमा १ महिला सहित १ सय२० जना ब्राउन सुगर सहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु