जेन जी प्रदर्शन: शोकमा डुबेको छ नेपालगन्जको एउटा टोल

बिबिसी- काठमाडौंमा भएको जेन जी प्रदर्शनमा नेपालगन्जको एउटै टाेलका दुई युवाको मृत्यु भएपछि धम्बोजी क्षेत्र शोकाकुल बनेको छ।मृतकहरू २३ वर्षीय सुलभ श्रेष्ठ र वर्ष १९ का आयुष थापा हुन्।

एक्लो छोरा गुमाएकी आमा बिना खड्का श्रेष्ठ पीडासँग अचेतजस्तै छिन् । कहिले होस आउँदा “मेरो छोराको लास छिटो घर ल्याइदेऊ, मेरो छोराको लासमाथि कसैले राजनीति नगर” भनेर बरबराउने गरिरहेकी छन् । घर वरिपरि रुवाबासी, आफन्त र छिमेकीहरूको भिड छ । आफन्त र छिमेकीहरू श्रेष्ठकी आमालाई सान्त्वना दिन आउने क्रम जारी छ।

Advertisement

श्रेष्ठ काठमाण्डूमा सिभिल इन्जिनिअरिङ अध्ययन गर्दै थिए । उनको मृत्यु भएको खबर सुन्नासाथ बुवा नरेन्द्र श्रेष्ठ सोमवार साँझ हवाइमार्ग हुँदै काठमाडौं गएका छन्।

ज्यान गुमाउने अर्का युवा आयुष थापा मगर फ्रान्स जाने तयारीमा काठमाण्डू गएका थिए। उनका बुबा सुशील थापा मगर र आमा पुनम थापा मङ्गलबार बिहान विमानबाट हुँदै काठमाडौं गएका छन् ।

आयुषको बुवाआमा काठमाडौं गएकाले उनको घर अहिले सुनसान छ । आफन्तहरू घरमा आउँदै फर्किँदै गरेका छन् । पीडित परिवारले सरकारप्रति कडा रोष प्रकट गर्दै भनेका छन्, “हाम्रा सन्तानलाई अपराधीझैँ ताकीताकी गोली हानियो । उनीहरू दोषी थिएनन्, आफ्ना माग सडकमा राखिरहेका थिए । तर निर्दोष युवाको रगत बगाएर सरकारले हाम्रो घरै रित्याइदियो।”

नेपालगन्ज-१ का वडाध्यक्ष प्रमोद रिजालले आन्दोलनमाथि भएको दमनलाई “अकल्पनीय र अमानवीय” बताएका छन्।

“शान्तिपूर्ण ढङ्गले माग राख्न सडकमा ओर्लिएका युवामाथि यसरी गोली प्रहार हुनु राष्ट्रकै लागि लज्जास्पद हो । सत्यतथ्य छानबिनबिना वास्तविकता बाहिर आउँदैन । दोषी जो भए पनि कारबाही हुनैपर्छ । राज्यकै संयन्त्र दोषी ठहरियो भने त्यसलाई पनि कानुनको कठघरामा उभ्याउनुपर्छ ।”

उनले दुःख प्रकट गर्दै थपे, “फुल्दै गरेका होनहार युवाहरू गुमाउनु देशकै ठूलो क्षति हो । राज्यले देखाउनुपर्ने संवेदनशीलता र जिम्मेवारी देखाउन सकेको छैन । यसको जिम्मेवारी लिनैपर्छ ।”

रिजालका अनुसार पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन मङ्गलबार वडा कार्यालयले विज्ञप्ति जारी गरी वडाभरिका विद्यालय तथा कार्यालय बन्द गर्ने निर्णय गरिएको छ।

सोमवार प्रदर्शनकारीहरू मारिएपछि नेपालगन्जमा पनि त्यसविरुद्ध प्रदर्शन सुरु भएको छ। प्रदर्शनकारीहरूले बीपीचोकमा टायर बालेर बाटो अवरुद्ध पारेका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु