नवलपरासी पश्चिम — भारतको हिन्दुस्थान दैनिक पत्रिकाले भारतमा गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप र बुद्धको मावली देवदह केहि दिनमै सन्चालन हुने समाचार प्रकाशित गरेको छ । यस्ले विश्वभरी गलत संदेश गएको स्थानीयको गुनाशो छ ।
हिन्दुस्थानको समाचारमा रामग्राम नगरपालिका–७ स्थित उजैनीमा रहेको ऐतिहासिक रामग्राम स्तुपजस्तै देखिने गरेर उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको सोहरीवरवा क्षेत्रमा स्तुपा रहेको भन्दै प्रचार गरिरहेको छ ।
भारतको महाराजगञ्ज जिल्लाको प्रशासनको वेबसाइटमा पनि प्राचीन रामग्राम स्तुप र देवदह भारतमा रहेको भन्दै गलत सूचना राखिएको छ । नेपालको आफ्नो जिल्लामा रहेको ऐतिहासिक स्थल र बुद्धसँग सम्बन्धित प्राचीन स्थानबारे गलत प्रचार गरेपछि पश्चिम नवलपरासीका स्थानीय र सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
Advertisement
बुद्ध सर्किट र बुद्धसँग सम्बन्धित स्थानको बारेमा अनर्गल प्रचार भएको भन्दै पश्चिम नवलपरासीको नागरिक समाज र रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास समितिले जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
रामग्राम विश्व सम्पदा सूचीमा सूचीकरण हुने प्रक्रियामा रहेको छ । प्राचीन रामग्राम र देवदहका विषयमा तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको नागरिक समाज पश्चिम नवलपरासीका अध्यक्ष राधेश्याम सैथवारले बताए ।
बुद्ध सर्किट र बुद्धसँग सम्बन्धित स्थानका बारेमा अनर्गल प्रचार भएको भन्दै पश्चिम नवलपरासीको नागरिक समाज र रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास समितिले जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ।
लुम्बिनी विकास कोषले पनि यसको संरक्षणमा उचित ध्यान नदिने र भारतले पनि ऐतिहासिक स्थलको कुप्रचार गर्नु निन्दनीय भएको भन्दै सरकारले कूटनीतिक पहलमार्फत गलत प्रचार तत्काल रोनुपर्ने नागरिक अगुवा शम्भु उपाध्यायले बताए ।
प्राचीन समयको कोलिया गणराज्यको राजधानी पण्डीतपुर, रामग्राम र देवदहको बारेमा विभिन्न अध्यनन अनुसन्धान र उत्खनन्ले रामग्राम स्तुपलाई विश्व सम्पदा सूचीमा राख्ने काम अगाडि बढेको छ ।
रामग्राम स्तुप इसापुर्व ५ सय वर्ष पुरानो कोलिया राजाद्वारा निर्मित स्तुप मानिन्छ । शान्तिका अग्रदूत बुद्धको महापरिनिर्वाणपछि बचेको अस्तु(अवशेष) ल्याएर अस्तु कलशमा राखेर स्तुप निमार्ण गरिएको इतिहास छ ।
रामग्राम स्तुपको खोजी गर्दा कोलिया राजधानी रामग्रामदेखि चार माइलपूर्व र दक्षिण दिशामा रहेको भन्दै चिनियाँ यात्रीको वर्णनका आधारमा रामग्राम स्तुप भेटिएको थियो । स्तुपको महत्त्वबारे बौद्धधर्म ग्रन्थ त्रिपिटकमा पनि उल्लेख छ । बौद्ध स्तुप अन्य स्थानमा पनि छ, तर रामग्राम स्तुप बुद्धको परिनिर्वाणपश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुपमध्ये सिंगो अस्तु भाग रहेको स्तुप भएकाले यसको महत्त्व बढी छ ।









