समाजसेवीदेखि जनप्रतिनिधिसम्मको श्रमदानमा सहभागिता

 

मोरङ, ५ असोज । नागरिक समाज लेटाङले सञ्चालन गर्दै आएको साप्ताहिक श्रमदान अभियान शनिबार तेस्रो हप्तामा प्रवेश गरेको छ।

Advertisement

 

अभियानमा समाजसेवी, स्थानीयवासीदेखि वडाअध्यक्षसम्मको उल्लेखनीय सहभागिताले सामुदायिक सहकार्य र जिम्मेवारीबोधलाई झल्काएको छ।

 

श्रमदान अन्तर्गत लेटाङ–४ गङ्गे चोकस्थित तिनकुने पार्कमा सरसफाइ गरिएको थियो। सहभागीहरूले झरेका पात, पतिङर र प्लास्टिकजन्य पदार्थ संकलन गरी व्यवस्थापन गरेपछि पार्क थप आकर्षक बनेको छ। स्थानीय युवादेखि समाजका वरिष्ठ नागरिकसम्मको सक्रियता देखिएको थियो।

 

“श्रमदान अभियानले सरसफाइ मात्र होइन, समाजलाई एकजुट गराउने शक्ति बोकेको छ,” स्वतन्त्र नागरिक समाजका अध्यक्ष ललिल बहादुर लिम्बुले बताउनुभयो। उहाँले प्रत्येक सातामा सहभागिता बढ्दै गएको र यसले अभियानलाई निरन्तर र प्रभावकारी बनाउन सहयोग पुर्याइरहेको उल्लेख गरे ।

 

यसअघि पनि समाजले विभिन्न स्थानमा श्रमदान गर्दै सार्वजनिक स्थल सफा गर्ने र वातावरण संरक्षणको सन्देश फैलाउँदै आएको छ। वडाअध्यक्षसहितका जनप्रतिनिधिले यस्तो अभियानले स्थानीय तहमा सकारात्मक ऊर्जा थपेको र सामुदायिक स्वामित्व बढाएको प्रतिक्रिया दिएका छन्।

 

 

स्थानीय बासिन्दाले श्रमदानलाई निरन्तरता दिनु जरुरी रहेको भन्दै आफ्नो सक्रिय सहभागिता जारी राख्ने प्रतिबद्धता जनाएका छन्। अभियानका संयोजकहरूले आगामी दिनमा अन्य सार्वजनिक स्थलमा पनि यस्तै कार्यक्रम विस्तार गर्ने योजना बनाएको जानकारी दिएका छन्।

 

लेटाङमा निरन्तर भइरहेको श्रमदानले “सफा पार्क, सुन्दर लेटाङ” मात्र होइन, सामुदायिक चेतना र सहकार्यलाई पनि मजबुत बनाइरहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु